सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट

  हिमाल समाचार
112 Shares

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आइपिओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार ७०० लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सविर वादे श्रेष्ठले जानकारी दिए । उनकाअनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० आवेदक हात खाली भएका छन् ।

कम्पनीले १०० अङ्कित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो । जसमध्ये दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने प्रक्षेपण गरिएको छ ।

आइपिओको नतिजा मेरो शेयर (https://meroshare.cdsc.com.np/#/login) , सिडीएसले आइपिओ नतिजाको लागि तयार पारेको वेबसाइट (https://iporesult.cdsc.com.np/) र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट बाट हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार