बाक्सिला र बुईपा एलाभेन स्पोर्टस् क्लव लिग च्याम्पियन

  हिमाल समाचार
63 Shares

खोटाङ – खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार सम्पन्न प्रतियोगिता अन्तरगत (ए) डिभिजन लिगमा बाक्सिला फुटबल क्लव र (बी) डिभिजनमा बुईपा एलाभेन स्पोर्टस् क्लव च्याम्पियन बनेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको राजाबासस्थित यलम्बर खेलमैदानमा आयोजना गरिएको जिल्ला लिगको (ए) डिभिजनतर्फ ११ अंकसहित बाक्सिला फुटबल क्लव लिग च्याम्पियन बनेको हो।

(ए) डिभिजन लिगका विजेता टिमले प्रदेशस्तरिय लिगमा प्रतिस्पर्धा गर्न पाउने आयोजक जिल्ला फुटबल संघले जनाएको छ। यस्तै, १० अंकसहित सोल्मा स्पोर्टस् क्लव रनरअप र ९ अंकसहित खारम्बु स्पोर्टस् क्लव तेश्रो भएको प्रतियोगिताका आयोजक जिल्ला फुटबल संघका प्रवक्ता सनम राई (जोजो)ले जानकारी दिए

खोटाङ भगवती स्पोर्टस् क्लवले ५ अंक र हलेसी तुवाचुङ फुटबल क्लवले ५ अंकसहित(ए) डिभिजनमा आफ्नो स्थान कायम राखेको छ।

(ए) डिभिजनमा रहेको खोटाङ फुटबल एकेडेमी भने (बी) डिभिजनमा ओर्लिएको छ। यस्तै, (बी) डिभिजनतर्फ ९ अंकसहित बुईपा एलाभेन स्पोर्टस् क्लव लिग च्याम्पियन बनेको छ।

प्राप्त अंकका आधारमा बुईपा एलाभेन स्पोर्टस् क्लव (बी) डिभिजनमा उक्लिन सफल भएको छ। ४ अंकसहित जन्तेढुंगा फुटबल क्लव दोश्रो र ३ अंकसहित नमूना स्पोर्टस् क्लव तेश्रो भएको प्रवक्ता राईले बताए।

(बी) डिभिजन लिगमा नुनथला फुटबल क्लवले १ अंकमात्र प्राप्त गरेको छ। गत बैसाख ११ गते उद्घाटन गरिएको जिल्ला लिगमा (ए) डिभिजनतर्फ ६ टिम र (बी) डिभिजनमा ४ टिमबीच प्रतिस्पर्धा भएको थियो।

(ए) डिभिजन लिगका विजेता टिमले प्रदेशस्तरिय लिगमा प्रतिस्पर्धा गर्न पाउने जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राईले बताए। २०७६ सालको लिगमा प्राप्त गरेको अंकको आधारमा जिल्लाका ६ वटा टिम (ए) डिभिजनमा र ४ वटा टिम (बी) डिभिजनमा परेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो।

एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगिता गरेको थियो।

२०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार