पत्तालेमा १४ हजार स्याउको बोट रोपियो, कृषि सचिव कार्की भन्छन्, ‘बजारको अभाव हुन दिन्नौ’

  हिमाल समाचार
2.3k Shares

सोलुखुम्बु – कृषि र पर्यटनमा टेवा पु¥याउने उद्देश्यले सोलुखुम्बुको पत्ताले क्षेत्रमा स्याउ खेतिको व्यवसायीक शुरुवात गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको २८ सय मिटर उचाईको क्षेत्रमा ईटालियन जातको हाईब्रिड स्याउको विरुवा रोपिएको हो ।

परीक्षण स्वरुप १ सय रोपनीमा १४ हजार विरुवा रोपिएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीको पहलमा एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलोपमेण्ट कम्पनीले स्याउको व्यवसायीक खेति शुरु गरेको हो ।

रोपेको २ महिनामै फुल खेल्न शुरु गरेको गोल्डेन, गाला र फुजि प्रजातिको स्याउ (फोटो-भानुभक्त निरौला)

रोपेको ४ महिना मै लटरम्म फल दिने स्याउको विभिन्न प्रजातिका विरुवालाई ईटली देखि ल्याएर जमिन र मलखादको उचित व्यवस्थापन गरि चैत्र महिना देखि रोप्न शुरु गरिएको कम्पनीका अध्यक्ष कृष्ण केसीले बताए । उनका अनुसार कृषि फर्ममा रोपेका गोल्डेन, गाला र फुजि प्रजातिको स्याउमा रोपेको २ महिनामै फुल खेल्न शुरु गरिसकेको छ ।

एउटा बोटले ३ बर्ष पछि न्युनतम बार्षिक २० केजिसम्म फल दिने भएकाले पनि परम्परागत खेति भन्दा व्यवसायीक खेतिबाट मनग्य प्रतिफल लिन सकिने कम्पनीका सञ्चालक राजेन्द्र बस्नेतको भनाई छ । पत्तालेमा रोपिएको स्याउले आगामि भदौमा दिने उत्पादन हेरेर न्युनतम ५० हजार बोट विस्तार गरिने कम्पनीका सञ्चालक डिल्ली गुरुङले जानकारी दिए ।

स्याउको विरुवा रोपिएको क्षेत्र

कृषि विकास मन्त्रालयका सचिव डा. योगन्द्र कार्कीले उक्त फर्मको स्थलगत अनुगमनका क्रममा उत्पादित स्याउको बजार व्यवस्थापन सरकारले गर्ने बताए । हिमाल एफ.एम.संग कुराकानी गर्दै सचिव डा. कार्कीले सोलुखुम्बुमा स्याउ खेतिको उच्च संभावना रहेकाले छिट्टै जिल्लामा स्याउको जोन कार्यालय स्थापना गरि खेतिमा अनुदानको व्यवस्था गर्ने बताए ।

स्याउ फार्मको अनुगमन गर्दै कृषि सचिव डा. कार्की

कर्णालीका विभिन्न स्थानमा उत्पादित स्याउले बजार मुल्य नपाईरहेका बेला सचिव कार्कीले भने गुणस्तरीय उत्पादनको बजारीकरण दायित्व राज्यले लिने बताएका हुन् । नेपालमा अहिले बार्षिक साँढे ७ अर्बको स्याउ आयात गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार