टोकियो ओलम्पिक: गौरिका सिंहकाे कीर्तिमान सुधार

  हिमाल समाचार
42 Shares

काठमाडाेँ- टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् ।टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् ।

गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् ।गौरिकाले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी छिन् । गौरिकाले सन् २०१९ मा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ००.६२ सेकेण्डको समय निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३ औं सागमा सर्ट कोर्समा भने गौरकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

सुरुको ५० मिटरमा गौरिका अघि रहेपनि पछिल्लो ५० मिटरमा उनले राम्रो प्रदर्शन गर्न सकिनन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९.७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००.०१ सेकेण्डसहित दोस्रो स्थानमा रहिन् ।

यस स्पर्धामा कूल ५१ खेलाडीको सहभागिता छ र उत्कृष्ट समय निकाल्ने १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोकेका थिए ।

२०१६ को रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले भने आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमध्ये चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । अब एथ्लेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १०० मिटरमा प्रतिस्पर्धा गर्नेछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार