कक्षा १२ को परीक्षा स्थगित

  हिमाल समाचार
203 Shares

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको उनले बताए । उनले भने ‘अहिलेलाई स्थगित गरेका छौं । बाँकी परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय भएको छ ।’

यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।

परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।

कस्तो थियो परीक्षाको तयारी ?

बोर्डले भौतिक दुरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्नेगरी तयारी थालेको थियो । साथै परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थडेक्स राख्ने लगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो ।

परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै परीक्षा गराउने तयारी गरेको थियो । बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो ।

बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीका लागि बोर्डले चार हजार तीन सय १० परीक्षा केन्द्र तोकिसकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार