फलफूलको रानी म्याङ्‍‍गोस्टिन खानुका फाइदा

  बबि बस्नेत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु
119 Shares

बबि बस्नेत,
कृषि ज्ञान केन्द्र सोलुखुम्बु

म्याङ्‍गोस्टिन एक फल हो । यसको वैज्ञानिक नाम गार्सिनिया म्याङ्गोस्टाना (Garcinia mangostana) हो । यो फलको स्वाद खट्टा-मीठो हुन्छ । यो उष्ण क्षेत्रमा पाइने फलफूल हो । यो फलको उत्पत्ति दक्षिणपूर्वी एशियामा भएको हो ।

म्याङ्गोस्टिन फललाई फलफूलको रानी पनि भनिन्छ । यो बैजनी रंगको हुन्छ । यसको नाम देश अनुसार फरक भए पनि नेपालमा भने यो फल अमृत फल भनेर चिनिन्छ । म्याङ्गोस्टिन जताततै पाइँदैन । यो एक मौसमी फल हो र गर्मीमा मात्र उपलब्ध हुन्छ ।

त्यसैले यसको उपलब्धता धेरै सीमित छ । यसलाई विशेष एशियाका बजारहरुबाट किन्न सक्नुहुन्छ । यो प्लास्टिक एवं डिब्बामा बन्द गरेर बेच्न राखिएको हुन्छ । नेपालमा भने यसको व्यावसायिक खेती गरेको पाइँदैन । यसको बोक्रा गाढा बैजनी रंगको हुन्छ । यस फलको बोक्रा चक्कुले सजिलै हटाउन सकिन्छ र भित्रको सेतो र रसदार गुदी उपभोग गर्न सकिन्छ ।

खाद्य तथा कृषि संगठनले सन् २०११ मा प्रकाशित गरेको कमिटी अन कमोडिटी प्रोबोलमको जर्नल अनुसार विश्वमा म्याङ्गोस्टिन सबैभन्दा बढी उत्पादन र निर्यात गर्ने राष्ट्र थाइल्याण्ड थियो । तर हालसालैको सर्वेक्षण हेर्ने हो भने म्याङ्गोस्टिन सबैभन्दा बढी उत्पादन गर्ने राष्ट्र भारत हो भने निर्यात गर्ने राष्ट्र थाइल्याण्ड र आयात गर्ने राष्ट्र चीन हो ।

म्याङ्गोस्टिन स्वादमा जति मीठो र खट्टा छ, पोषक तत्वहरुमा पनि त्यत्तिकै धनी छ ।म्याङ्गोस्टिनमा मानव शरीरलाई चाहिने प्रचुर मात्रामा क्यालोरी, प्रोटिन, भिटामिन सी, भिटामिन बी, म्याग्निसिएम, फाईबर, क्याल्सियम, कपर र अन्य धेरै पोषक तत्व पाइन्छन् । स्वास्थ्यको लागी धेरै नै लाभदायक भएकोले यो फललाई अमृत फल पनि भनिन्छ ।

यो फलको धेरै देशमा माग रहँदै आएको छ । म्याङ्गोस्टिनको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु भएका छन् । यी अनुसन्धानबाट म्याङ्गोस्टिन स्वास्थ्यको लागि लाभदायक हुने कुरा प्रमाणित भइसकेको छ ।

एक अध्ययनका अनुसार १९६ ग्राम म्याङ्गोस्टिनमा पाइने पोषक तत्व र खनिज पदार्थ यसप्रकारको छ:

क्यालोरी -१४३ ग्राम

प्रोटिन -१ ग्राम

चिल्लो -१ ग्राम

फाईबर-३ मिलिग्राम

भिटामिन सी -९ प्रतिशत RDI (recommended daily intake)

फोलेट -१५ प्रतिशत RDI

थाईमिन -७ प्रतिशत RDI

राईबोफ्लाभिन-६ प्रतिशत RDI

कपर -७ प्रतिशत RDI

म्याग्नेसियम – ६% RDI

म्याङ्गोस्टिनमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाइने भएकोले डीएनएलाई क्षति गर्ने “फ्रि” रेडिकल हटाउने काम एन्टिअक्सिडेन्टले गर्दछ । त्यस्तै फाईबरको मात्रा पनि प्रशस्त हुने हुँदा आन्द्रामा हुने घाउ कम गर्नुमा साथै क्यान्सर बाट पनि बचाउँछ । भिटामिन सी प्रचुर मात्रामा पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रुघाखोकी र दमबाट पनि बचाउँछ ।

म्याङ्गोस्टिनमा फाईबरको मात्रा प्रशस्त हुने हुँदा यसले रोचक औषधिको काम गर्ने गर्दछ । म्याङ्गोस्टिनको सेवन गर्दा सानो आन्द्राको पानि राख्ने क्षमता बढ्छ जसले गर्दा नरम दिसा बनेर कब्जियत कम गर्न सहयोग पुर्‍याउँछ ।

म्याङ्गोस्टिनमा टेनिन र ज्यानथोन पाइने हुनाले शरीरभित्र रहेका हानिकारक जीवाणु र विषाणुलाई शरीर बाहिर निकाली स्वस्थ बनाउन मद्दत पुर्‍याउँछ । म्याङ्गोस्टिनमा टेनिनको मात्रा पर्याप्त हुने भएकोले पखालाको ‍अचूक औषिधि पनि हो । यसमा एण्टिबायोटिक, जीवाणुरोधी गुण हुने भएकाले पिसाब र छालाको संक्रमण कम गर्ने, घाउ, क्षयरोग, क्यान्सर, गाँठागुठी आउने र अन्य समस्याहरुको उपचारमा उपयोगी छ ।

म्याङ्गोस्टिन सेवन मधुमेहका बिरामीको लागि फाइदाजनक मानिन्छ । यसमा पाइने ज्यानथोनले रगतमा चिनीको मात्रा सन्तुलित राख्छ र मधुमेह नियन्त्रण गर्नको लागि शरीरको क्षमता बढाउँछ ।

फाइबर र अन्य पोषक तत्वका कारण वजन घटाउन म्याङ्गोस्टिन राम्रो विकल्प हो । नियमित म्याङ्गोस्टिनको सेवनले पाचनतन्त्रलाई स्वस्थ राख्ने र भोकलाई नियन्त्रित गर्ने गर्छ । यसो हुँदा पटक पटक भोजन गर्ने आवश्यकता रहँदैन । यसबाट हाम्रो तौललाई समेत नियन्त्रणमा राख्न सकिन्छ ।

दैनिक १-२ वटा म्याङ्गोस्टिनको सेवनले अनुहारमा आउने घाउ खटिरा डण्डीफोर जस्ता समस्यालाई कम गरी स्वस्थ र चम्किलो छाला बनाउन सहयोग गर्छ ।

यस्ता अनेकौं फाइदा भएको म्याङ्गोस्टिनको व्यावसायिक खेती भने नेपालमा हुनसकेको छैन । यो फल हाम्रो लागि नौलो भए पनि यसको खेती प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान गरी नेपालमा पनि व्यावसायिक रुपमा खेती गर्न सके राम्रो हुन्थ्यो । सरकारले यस फलको खेतीका लागि नीतिगत कार्यक्रम ल्याएर यसको अध्ययन अनुसन्धानमा जोड दिए अन्य फलहरु जस्तै अमृत फलको व्यावसायिक खेती पनि नेपालमा सम्भव देखिने थियो कि ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार