मातृ मृत्युदर शुन्यमा पुग्नु अमुल्य उपलब्धि – अध्यक्ष राई

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकारको प्रयासले मातृ मृत्युदर शुन्यमा पुग्नु मुख्य उपलब्धि भएको बताएका छन् ।

थुलुङ दुधकोशी ७ र ८ को सिमानाबाट सेवा प्रवाह गरिरहको स्वास्थ्य चौकीको वर्थिङ सेन्टर सहितको सुविधा सम्पन्न भवनको आईतबार शिलान्यास गर्दै अध्यक्ष राईले स्थानीय सरकार गठन अघि बर्षेनी आमाहरुले अकालमा ज्यान गुमाउदै आएको अवस्थामा स्थानीय सरकारको प्रयासले शुन्यमा झर्नु अमुल्य उपलब्धि भएको बताए ।

उनले भने, ‘हामी सरकारको नेतृत्वमा आइसकेपछि सुत्केरीका लागि वर्थिङ सेन्टरमा जाने वातावरण बनाउन संघीय सरकारले दिने प्रोत्साहन रकम बाहेक पनि जनही ५ हजार प्रोत्साहन रकम दिने गरि कार्यक्रम कार्यान्वयनमा ल्याएपछि मातृ मृत्युदर शुन्यमा झर्नु हाम्रो कार्यकालको मुख्य उपलब्धि ठानेका छौँ ।’

अब दुई महिना भित्र दुधकोशी सामुदायीक अस्पतालको निर्माण सम्पन्न गर्ने र सुविधा सम्पन्न अस्पताल संचालनको तयारीमा रहेको अध्यक्ष राईले बताए । ‘धुलिखेल अस्पतालसंगको साझेदारीमा अस्पतालले जनमैत्री सेवा प्रदान गर्नेछौ । जुन स्थानीय तहमध्येकै नमूना योजनाको रुपमा अस्पताल स्थापित बन्नेछ भन्ने हाम्रो दाबी हो ।’उनले भने ।

शिक्षा क्षेत्रमा पनि थुलुङ दुधकोशी गाउँपालिकाले फड्को मारेको दाबी गरे । प्राविधिक शिक्षालय संचालनमा आएपछि प्राविधिक विषय अध्ययनका लागि शहर नै पुग्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । उनले दीगो विकासमा लागि जनसहभागीता अनिवार्य भएकाले विकास निर्माणमा गोलबन्द हुन आब्हान गरे ।

सोही कार्यक्रममा थुलुङ दुधकोशी – ७ का वडाअध्यक्ष राम सघर्ष किराँतीले दुई वडाको साझा सम्पत्तीको रुपमा वर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी भवन निर्माण हुन लागेकाले महिला दिदीवहिनीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए । थुलुङ दुधकोशी – ८ का कार्यवहाक अध्यक्ष तिल बहादुर राईले जनअपेक्षा अनुसार विकास निर्माणको काममा तल्लिन भएको बताए ।

वान हर्ट वल्र्ड वाईड र थुलुङ दुधकोशीको लागत साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न हुनेछ । कार्यक्रममा जग्गादातालाई खादा र सम्मान–पत्र सहित सम्मान पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार