चिसो भूलेर झुम्यो सल्लेरी

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरी मंसिर महिनाको चिसोले समातिसकेको थियो । तर जब ती साँझहरुमा संगीतको रौनकता मिसियो, चिसोको कुनै पर्वाह नै नगरि सल्लेरीमा संगीतका हजारौं पारखीहरु झुमिरहेका भिटिए । गत मंसिर ५ गतेबाट नै संगीतमा झुम्न थालेको सल्लेरी मंसिर ८ गतेको साँझ भने सांगीतिक माहौलको उत्कर्षमै पुगेर झुमेको थियो ।

स्टार यूथ क्लबले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रदेश नं. १ स्तरीय महिला र सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगीता तथा सांगीतिक साँझको आयोजना गरेको हो । सो अवसरमा मंसिर ८ गते साँझ ६ बजेबाट सुरु भएको सांगीतिक साँझ राती १ बजेसम्म संचालन भएको थियो ।

सांगीतिक साँझमा कलाकारहरु प्रताप दास, अस्मिता अधिकारी, सुनिल कटुवाल, पूर्ण राई, हास्य कलाकारहरु शेर बहादुर गुरुङ र कैलाश कार्की, नृत्यांगना तथा मोडल सिर्जना किरातीलगायतले गरेको प्रस्तुतिमा सोलुखुम्बुका दर्शकहरु राती अबेसम्म रमाएका थिए । प्रताप दासले आफ्नो हिट गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए । उनले आफ्नो ‘तिम्रो स्वरमा स्वर मिलाई’बाट गाउन सुरु गरेर ‘ए मेरो हजुर’, ‘बुलेट बाइकमा’, ‘फोटो फिरिममा’ लगायत गीत गाएका थिए ।

प्रतापले सोलुखुम्बुको स्टेजबाटै आफ्नो मिलनसार साथी गायक बुद्ध लामालाई सोलुखुम्बुका फ्यानहरुसँग स्टेजबाटै जन्म दिनको शुभकामना समेत दिएका थिए । त्यसैगरि गायिका असिमता अधिकारीले पनि आफ्ना हिट गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिलाएकी थिइन् । उनले आफू सोलुखुम्बु पहिलो पटक आएको र पहिलो पटक नै दर्शकबाट अपार माया पाएको स्टेजबाटै बताइन् । ‘टासिदेले सोलुखुम्बु ! आइ लभ यू सोलुखुम्बु’ भन्दै स्टेज चढेकी अस्मिताले ‘मलाई साली मन प¥यो’, ‘रमरम मरौटी’लगायतका गीत गाएकी थिइन् । उनले आफूलाई पुनः सोलुखुम्बु आउने इच्छा रहेको समेत बताएकी थिइन् ।

कार्यक्रममा अर्का गायक सुनिल कटुवालले पनि दर्शकलाई नचनएका थिए । केही समयपश्चात अष्ट्रेलिया फर्कन लागेको तर आफूले संगीतलाई माया नमार्ने बताउँदै गीत गाउन थालेका सुनिलले ‘केटो अलि कमाउने होस’, ‘कपुरी क’, ‘मुखैमा रामराम’लगायतका गीत गाएर दर्शकलाई झुमाएका थिए । त्यसैगरि सोलुखुम्बुमै जन्मिएका गायक पूर्ण राईले ‘सोलुखुम्बु साँच्चै रमाइलो’, ‘यति नजिक नआउ तिमी’लगायतका गीतमा दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा जादुगर एवं हास्य कलाकार शेरबहादुर गुरुङले विभिन्न जादु देखाएर दर्शकलाई हसाएका थिए भने सोलुखुम्बुमा जन्मिएर कमेडि च्याम्पियनमार्फत हास्य जगतमा स्थापित कैलाश कार्कीले सोलुखुम्बुका आफ्ना दर्शकहरुलाई पेट मिचिमिचि हसाएका थिए । उनले आफूले सोलुखुम्बुमा प्रस्तुति दिन इच्छा राखिरहेको भए पनि उक्त अवसर स्टार यूथ क्लबले आफ्नो मन्चमा दिएकोमा खुसी ब्यक्त गरेका थिए ।

कार्यक्रममा नृत्यांगना तथा मोडल सिर्जना किरातीले पनि आफ्ना दमदार प्रस्तुतिद्वारा दर्शकलाई मनोरञ्जन दिलाएकी थिइन् । त्यसैगरि सांगीतिक साँझमा गायकहरु सनकुमार तामाङ, कुमार प्रयास, खगेन्द्र राई, बिनोद विक्रम राई, केशव राई, संगम खालिङ राईलगायतले आफ्नो गायन प्रस्तुतिमार्फत चिसो रातमा दर्शकलाई नचनएका थिए भने बिनिता राई, अनुषा राईलगायतका नृत्यांगनाहरुको नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएको थियो । कार्यक्रममा सोलुखुम्बुका स्थानीय कलाकारहरुको प्रस्तुतिका क्रममा सल्लेरीमा स्थापित ब्याण्ड ‘आगमन’ले नेपथ्यलगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार