उम्मेदवार शेर्पाको बदनाम गराउन साईवर क्राइम बढ्दो, दोषीलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – जिल्ला सभापति चयनका लागि नेपाली कांग्रेस सोलुखुम्बुको पुनःनिर्वाचन मिति नजिकिदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग गरि बदनाम गर्ने क्रम नरोकिएपछि सभापतिका उम्मेदवार तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले प्रहरी गुहारेका छन् ।

शेर्पाका अनुसार फेक आईडीबाट दोस्रो म्यासेज पनि बाहिरएपछि दोषी पत्ता लगाउन र कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कवित कटवाललाई भेटेका हुन् । पटक पटक मतदातालाई भ्रम पार्ने गरि बदनियतपुर्ण म्यासेज सार्वजनिक भएकाले दोषीलाई कारबाहीको लागि प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको मेयर शेर्पाले बताए ।

उनले भने, ‘आसन्न निर्वाचनमा पराजित हुने मानसिकताले अर्को पक्षले मतदातामा भ्रम छर्नका लागि श्रृंंखलाबद्ध रुपमा बदनामीमा लागि परेको देखिन्छ । फेक आईडी र गलत म्यासेज सार्वजनिक गर्ने व्यक्ति पहिचान र कारबाहीको लागि कानुनी बाटो अपनाएको हूँ ।’

यसअघि पनि सभापतिका उम्मेदवार नाम्गेल जाङबु शेर्पा र विनोद बस्नेतको फेक आईडीबाट जातीयता सद्भाव विथोल्ने खाले म्यासेज सार्वजनिक भइसकेको छ । त्यसबेला दुवै उम्मेदवारले सार्वजनिक म्यासेज वास्तविक नभएको र चरित्रहत्या गर्ने नियतले निकटतम प्रतिस्प्रर्धीले भूमिका खेलेको भन्दै एकअर्कालाई दोषारोपण गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा खसेको मतमा दुवै उम्मेदवारको ५० प्रतिशत प्राप्त मत नआएपछि पुनःनिर्वाचनको मिति तय गरिएको थियो । यहि मंसिर १४ गते सभापति चयनका लागि निर्वाचन हुदैछ । पहिलो चरणको निर्वाचनमा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार