राम–सीता साताव्यापी विवाह पञ्चमी आजबाट सुरु

  हिमाल समाचार
28 Shares

जनकपुर-  राम–सीता साताव्यापी विवाह पञ्चमी आजबाट सुरु भएकाे छ । मंसिर शुक्लपञ्चमीका दिन त्रेतायुगमा भगवान राम र सीताको विवाह तत्कालिन मिथिलाका राजधानी जनकपुरमा भएको सम्झनामा हरेक वर्ष विवाह पञ्चमी महोत्सवको आयोजना गरिदै आएको छ ।

विवाह पञ्चमी अन्तर्गत आज पहिलो दिन साँझ नगर दर्शन विधि गरिन्छ । त्रेतायुगमा भगवान राम पहिलो पटक मिथिला आएपछि आजकै दिन नगर दर्शन गरेको मानिन्छ । नगर दर्शनका क्रममा भगवान रामले मिथिलाको पान खाएका थिए ।

जानकी मन्दिरका सहायक महन्थ राम रोषन दासका अनुसार महोत्सव अन्तर्गत दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर कार्यक्रम तय भएको छ ।

महोत्सवको छैटौं दिन स्वयम्बर र विवाह कार्यक्रम आयोजना हुन्छ । यो विशेष दिन हो । विवाह कार्यक्रममा भारतको अयोध्याबाट आउने सयौं साधुसन्त भगवान रामको जन्तीको भुमिका निर्वाह गर्छन् ।

विवाह पञ्चमीको सातौं दिन राम कलेवा विधि हुन्छ । योसँगै महोत्सव सम्पन्न हुनेछ । भारतबाट जन्तीको रुपमा आएका साधुसन्तका लागि जानकी मन्दिर परिसरमा विशेष भोजको आयोजना गरिन्छ ।

भोज पपश्चात साधुसन्तलाई दक्षिणा र लुगासहितका उपहार दिएर विदाई गरिन्छ, जसलाई राम कलेवा विधि भनिन्छ ।विवाहपञ्चमी महोत्सवको सबैभन्दा ठूलो आकर्षण हुन्छ– भारतको अयोध्याबाट आउने जन्ती । हरेक ५ बर्षमा हात्ती, घोरा र बाजागाजासहित अयोध्याकबाट जन्ती आउने गर्छन् । यसवर्ष भने औपचारिक रुपमा जन्ती नआएपछि हजारौं साधुसन्त आउने जानकी मन्दिरका सहायक महन्थ दास बताउँछन् ।

विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरलाई झकिझकाउ पारिएको छ । जनकपुरधाममा भीडभाड बढ्न थालेको छ । मन्दिर क्षेत्रमा विदेशी पर्यटकहरु समेत देखिन थालेका छन् ।तर भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि सिमा नाका बन्द हुने सम्भावना बढेकाले यसवर्षको विवाह पञ्चमी पनि प्रभावित हुने सम्भावना बढेको छ ।

गत वर्ष कोरोना महामारीकै कारण विवाह पञ्चमी प्रभावित बनेको थियो । त्यसैले यसवर्ष विगतको तुलनामा बढी श्रद्धालु आउने अनुमान थियो । तर भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि विवाह पञ्चमी प्रभावित हुने सम्भावना बढेपछि यहाँका व्यावसायीहरु चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार