नेता बन्न प्रहरीको जागिर छाडेका वियस (भिडियो)

  हिमाल समाचार
0 Shares

‘तलबका लागि सत्तालाई सघाउने वर्ग मेरो थिएनछ । मलाई यत्ति बुझ्न १५ बर्ष लाग्यो । १५ बर्षपछि नै भए पनि मैले सानो बिद्रोह गरेँ । मेरो व्यक्तिगत बिद्रोहलाई स्वीकार गरिदिने नेकपा माओवादी केन्द्रप्रति आभारी छु । रचनात्मक सहयात्रा अब गरिनेछ ।’ यो भनाई साहित्यकार वियस राईको हो । १५ बर्ष प्रहरी सेवाको जागिरबाट राजिनामा दिएर राजनितिमा प्रवेश गरेका उनले हिमाल समाचारले लेखेको समाचार शेयर गर्दै लेखेको फेसबुक स्टाटस हो ।

दिनगन्ती गर्दा उनले ५५५० दिन प्रहरी सेवामा विताए । महिना दिन पुगेपछि तलब बुझ्थे तर उनको मन बुझ्दैनथ्यो । निकै लामो समय आफ्नै मन भित्र द्वन्द्व चलाएका उनले परिवारको सहमतिमै प्रहरीको जागिर छाडे । सामान्यतया हाम्रो समाजमा खाइपाइको जागिर छाड्ने व्यक्ति महामूर्ख कहलिन्छ । तर उनी आफ्नो निर्णयलाई मुर्ख ठान्दैनन् । ‘निकै सुजबुझका साथ जागिर छाड्ने निर्णयमा पुगेको हूँ ।’उनले भने, ‘मलाई एकरति पनि पछुतो छैन् ।’

माओवादी पार्टी प्रवेश गर्दै वियस

सोलुखुम्बुको नेचासल्यानमा जन्मे हुर्केका वियस फ्रेमभित्र रहेर जीवन व्यति गर्न चाहेनन् । उनलाई राजनिति गर्ने चाहनाले सताइरह्यो । खास किन राजनितिमा होमिने त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘सम्पुर्ण क्षेत्रको विकासको बागडोर नै राजनिति रहेछ । नेताहरुले निति नबनाएसम्म कुनै पनि काम नहुने भनेपछि परिर्वतनका चाहना बोक्ने मानिस राजनितिमा नहोमिए सुखै रहेनछ ।’उनले थपे, ‘राजनिति गर्नका लागि विलक्षण प्रतिभा चाहिन्छ होला भन्ने मेरो बुझाई थियो । एक सय केही महिनाको लागि एक जना मन्त्रीको अंगरक्षक बन्ने अवसर मिल्यो । त्यसबेला एक जना मन्त्री वा राजनितिज्ञ (जे भनेपनि)लाई नजिकबाट बुझ्ने अवसर पाएँ । त्यसबेला लाग्यो की, ए…राजनिति गर्ने मानिस त म जस्तै हुदा रहेछन् ।’यो घटना र बुझाईले वियसलाई प्रहरीको जागिर छाड्न अझ मलजल थप्यो ।

जागिरप्रति वितृष्णा जगाउन सहयोग गर्ने अर्को घटना पनि छ । मकवानपुरमा गाई काटेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ ग¥यो । त्यस घटनाले प्रहरी सेवामै सब–इन्स्पेक्टर (सई) को भूमिकामा रहेका बीएस झस्किए । कारण, चाहे बीएसको समुदाय होस् वा तामाङ समुदाय । उनीहरूको संस्कृतिमा गाई काट्नु स्वीकार्य छ । उनी भन्छन्, ‘मैले उनीहरूलाई हतकडी लगाउनुपर्याे भने हात काँप्नेछन् । म पनि त्यही सांस्कृतिक सम्प्रदायको मान्छे हुँ । म आफ्नै संस्कृतिको हत्यारा कहिलेसम्म बनिरहुँ ।’ यी र यस्तै कुराले वियसलाई लाग्यो, ‘बाटो बदल्छु । यात्रामा निस्कन मन लागेको तर नचिनेको बाटोमा आइपर्ने सम्पुर्ण बाधाव्यवधान स्विकार्य लाग्यो । त्यसकारण गाउँ फर्के ।’ कुराकानीका क्रममा वियसले भने ।

प्रहरी सेवाबाट राजिनामा दिएको क्षण हलुका र आफूलाई स्वतन्त्र भएको महसुस गरे । गाउँ फर्केर राजनिति, व्यवसाय र साहित्य लेखनलाई संगै अघि बढाउने प्रण गरेका वियसले नेकपा माओबादी केन्द्रबाट राजनितिको औपचारिक शुरुवात गरिसके । ‘तल्लो तहबाटै जनताको सेवा गर्दै निति निर्माणको तहसम्म पुग्ने सपना बोकेको छु । ढिलो चाँडो पुरा गरेरै छाड्छु । त्यो संकल्प छ ।’

कथाकृति ‘हिउँमाझी’को चर्चासंगै सम्मान ग्रहण गर्दै वियस

जागिरमा रहदा पनि काठमाण्डौँमा हाँस पालन लगायतका व्यवसाय गरिरहेका उनले नेचासल्यानमा राजनिति संगै व्यवसाय थाल्नेछन् । जस्ले स्थानीय स्तरमा रोजगारीको वातावरण पनि तयार पार्नेछ । ‘राजनिति सेवामूलक क्षेत्र हो । राजनितिबाट कमाउने अभिलाषा राख्नुहुदैन् । मेरो मनमा पनि छैन् । बाँच्न र बचाउनका लागि व्यवसाय पनि गर्छु । जस्को कारण, राजनिति गरेकै कारण जनस्तरबाट आलोचना खेप्न नपरोस् ।’उनले भने ।

साहित्य लेखनमा पनि उत्तिकै रुची राख्ने वियसलाई हामीले सोध्यौ की, साहित्य लेखनलाई पुर्णविराम दिनुहुन्छ ? उनले भने, ‘काँ पुर्णविरामको कुरा, अझ परिस्कृत तवरले साहित्य लेखनमा अघि बढ्छु । होला, रफ्तारमा दिन नसकूँला । राजनितिसंगै साहित्यको माध्यमबाट पनि समाज परिर्वतनमा योगदान दिने कोशिस जहिल्यै रहन्छ ।’ उनको कथा कृति ‘हिउँमाझी’को चर्चाले साहित्यकारको परिचय सहित स्थापित हुन सहयोग पुग्यो ।

उनी गीतकार पनि हुन् । उनको एउटा गीत रेकर्ड पनि भएको छ । कुवेर नेपालीले स्वर दिएको उक्त गीतमा प्रविण खपांगीको संगीत रहेको छ । १५ बर्ष अघि दुखले खाएको प्रहरीको जागिर छाडेर गाउँ फर्केका वियसलाई राजनिति, व्यवसाय र साहित्य लेखनको यात्रामा सफलताको शुभकामना !

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार