लेखनमा चलेका स्याङजाली सर्जक

  शिखर गजरकोटे
112 Shares

काठमाडौं । यसै पनि सृजना भन्ने कुरा निकै जटिल विषय हो । यी सबै कुरा परिस्थिति र मनस्थितमा भर पर्दछन् । तर सर्जकहरू सृजनामै मस्त देखिन्छन् । त्यसमध्येका एक हुन्, प्रेमसागर पौडेल । उनले लेखेका दर्जनौं लोक र आधुनिक गीतसंगीत बजारमा चलेका छन् । उनले लेखेका एउटा गीत ‘तिमीसँग नजर जुधाइँ’ पछिल्लो चलेको गीत हो । १२ वर्षअघिको गीत रेकर्डिङ गरेका उनको गीतमा एलिना चौहानको स्वर सुन्न सकिन्छ । यसअघि प्रमोद खरेल र विनय निरौलाको स्वरमा पहिलो रेकर्डिङ गरिएको थियो । त्यो बेला यो गीत सीआरबीटी, पीआरबीटीमा चलेको मध्ये एक हो ।

स्याङ्जाको टक्सारमा जन्मेका सर्जक पौडेल रेडियो प्रस्तोताबाट अघि बढेका हुन् । २०६०–६१ देखि पोखराका हिमचुली र साराङकोट एफएममा गुञ्जिन्थे । त्यो बेलादेखि लोकगीतको कार्यक्रम सञ्चालन गर्ने पौडेलले लोकदोहोरी बजाउथे । लोक कलाकारको अन्तर्वार्ता लिन्थे । त्यसैबेलाबाट लोक कलाकर्मीसँगको सामीप्यता बढाएर लोकसंगीतको ढोका खोले । सञ्चारकर्मीको भ¥याङ चढेर लोकसंगीतमा हाम्फालेका पौडेलको चर्चा कमाएको पहिलो गीत ‘आँसु नझार’हो । जुन गीत मोफसल पोखराबाटै रेकर्ड गराए । त्यो बेला अडियोको जमानामा सर्वाधिक क्यासेट बिक्री भएको स्वयं सर्जक पौडेल बताउँछन् ।

त्यसपछि ‘धानको बाला’लगायतका दोहोरी गीतमा एकपछि अर्को गीत सृजनाको अवसर पाए । उनले भने, ‘मलाई गीत राम्रो लेख्दो रैछ भन्ने परिचय बनाएकै ‘आँसु नझार’ गीतले हो । त्यसपछि लेखनको सुस्ताएको होला तर यात्रा रोकिएको छैन् ।’ उनको पहिलो गीत चाडपर्व विशेष थियो । कस्तुप पन्तको भाका सृजनामा उनले गीत लेखेका थिए । ‘आँसु झरी भो, गरिबलाई चाडपर्व भन्न नि दशा सरी भो’ जुन गीत २०५९ सालमा बजारमा आएको थियो । त्यसपछि उनले दोहोरी गीत ‘सुख दुःख साट्न पाइएन’, ‘तिम्रो बोली सुन्न’, ‘त्यसै रुनुपर्छ’, ‘आमाको सम्झना’लगायतका दर्जनौ गीतमा शब्द लेखे ।

दोहोरी गीत र आधुनिक गीतमा उत्तिकै कलम चलाएका प्रेम सागरका आधुनिक गीत बढी सफल मानिएका छन् । उनी गीतमा वियोगान्त धारको कथावस्तुमा कलम चलाउछन् । उनी भन्छन्, ‘मैले लेखेको दोहोरीभन्दा आधुनिक गीत रुचाइए । सायद, वियोगान्त धारको संगीतलाई माया गर्ने दर्शक श्रोता बढी हुनुहुन्छ ।’ उनका ‘सम्झ त प्रिय’, ‘नशा पिउने बानी भयो’, ‘मेरो मुटुमा तिमी छौ’, ‘ढुंगाको मन’, ‘धनलाई माया’, ‘म मरेको खबर’, ‘मन माग्यौ मन दिए’, ‘जस्को लागि मलाई छाड्यौं’, ‘मेरो याद आउँछ कि आउँदैन’, ‘म जस्तो हजार पाइहाल्छौ’, ‘मेरो साथ छोड्यौ भने’, ‘जब तिमीले’, ‘तिम्रो मायाको भोगी’ लगायतका दर्जनौ गीत संगीतप्रेमीको मन मस्तिष्कमा अडिन सफल भएको छ ।

आठ वर्षअघि रक्षा म्युजिकको च्यानलबाट डिजिटल यात्रा सुरु गरेका सर्जक पौडेलले समयानुकूल काम गर्दै आएका छन् । त्यसो त, कम्पनी त्यसअघि पनि चलाउथे । आफ्नो कम्पनीको गीत डिजिटल बजारमा पठाउन म्युजिक नेपाललगायतका चलनचल्तीका युट्युब कम्पनीलाई गुहार्थे । ‘मैले युट्युब सुरु गर्दा नेपालकै टपटेन भित्र थिए ।’ ती दिन सम्झँदै उनले भने । सर्जक पौडेल कम्पनी सञ्चालक पनि भए । कम्पनीलाई उचाइमा लैजाने क्रममा फिल्डमा खटिए । स्टुडियो होस् वा सुटिङ स्पटमा दौडधुप गरिरहन्थे । तीन वर्ष नेपाल टेलिभिजनमा सांगीतिक कार्यक्रम चलाएका उनले भिडियो निर्देशन र मोडलिङसमेत गर्न भ्याए । उनले आफ्नै स्वर रेकर्ड पनि गराए । जुन गायन श्रोतामाझ परीक्षण पनि थियो । ‘आफैंले पढेको क्याम्पस बारेमा ‘पीएन क्याम्पस पढ्छिन्’ बोलको गीत गाए । आफ्नो स्वरको परीक्षा थियो । मिश्रित प्रतिक्रिया थियो । त्यसपछि गीत गाएको छैन् । अब एकदुईटा गीत गाउँछु होला तर त्योभन्दा धेरै गाउँदिन ।’ उनले भने ।

उनले के गरेनन् । पत्रकार बनेर कलाकारलाई प्रश्न पनि गरे । जे पनि आफैँले गरिदिने रु भन्ने हाम्रो प्रश्नमा सर्जक पौडेल भन्छन्, ‘रेडियो रहँदा पनि कलाकारलाई प्रश्न गरेकै हो । अनि, अहिले कुराकानी गर्न मलाई किन गाह्रो हुनु ।’ जानेको कुरा किन नगर्ने भन्ने आफ्नो सोच भएको बताए । काम गर्न केही पछि नपर्ने । अलराउन्डर बताउने सर्जक पौडेलले अहिले अडियो भिडियोका अधिकांश काम आफैँ गर्छन् । ‘अरूको शरणमा सामान्य कामकै लागि धाउनु परेन् ।’ उनले थपे । उनीसँग अहिले अर्को एउटा कम्पनी छ । जस्को नाम प्रयास मिडिया हो । यी दुवै च्यानल अहिले पनि फङ्सनमै छन् । दुवै च्यानलमा कुनै न कुनै गीतसंगीत र सम्बन्धित भिडियो अपलोड भइरहेका छन् । जुन सर्जक पौडेलको लागि आम्दानीको दिगो स्रोत बनेको छ । गीतसंगीतको कमाइबाटै काठमाडौंमा घर बनाएका छन् । उनले भने, ‘दुःखले बनाएको घर जिन्दगीकै भर बनेको छ । गीतसंगीतको कमाइले घर बनाउने ढाडस मिल्यो ।’

चलेको ट्रेनमा आफूलाई बदल्नसक्ने सर्जकसँगै व्यवसायी पनि हुन् । बजारमा चल्छ के रु चलेको छ के रु यस्ता कुराको विश्लेषण गर्न सक्ने र सोहीअनुसारको संगीत सृजनामा तल्लीन छन्, उनी । कतिपयले उनलाई भाइरल कन्टेनको पछि लाग्ने सर्जक पनि भन्छन् भन्ने प्रश्नमा उनी भन्छन्, ‘आरोप पूरै सत्य पनि होइन, असत्य पनि होइन । काठमाडौंमा बाँच्नका लागि पनि अलराउन्डर हुनु बाध्यता हो । एकोहोरो एक शैलीमा हिँडेर बाँच्न कठिन छ ।’ उनी अनुजदेखि अग्रजसँगको संगत गरेका छन् । पौडेलले चर्चित तर गुमनाम गायिका वा यसो भनौं नेपाली संगीतकै महँगी गायिका विष्णु माझीसँग पनि थुप्रै गीतमा सहकार्य गरेका छन् । माझीको पारिश्रमिक पाँच हजार हुँदादेखि एक लाखसम्म काम गरे पनि त्यसपछि काम नगरेको उनी बताउँछिन् । ‘पहिलेदेखि नै त्यस्तो खुलेर बोल्ने व्यक्ति त होइन् तर कहिलेकाहीँ गीतको शब्दमा केही अस्पष्ट भए सोध्नुहुन्थ्यो । उहाँको श्रीमान् सुन्दरमणिजीसँग राम्रो सम्बन्ध छ ।’ उनले थपे, ‘गायिका माझी सार्वजनिक नहुनुको यकिन कारण थाहा नपाए पनि आमसञ्चार आएजस्तो अप्ठ्यारोमा पारिएको भन्ने विषय बिल्कुल होइन । सायद, उहाँहरू आफ्नो माग र आफूप्रतिको कौतुहुलता बढोस् भन्ने चाहनुहुन्छ होला ।’ सर्जक पौडेलले विष्णु माझी निकट भविष्यमा ठूलै कार्यक्रम गरेर निस्कन सक्ने सम्भावना औँल्याए ।

अवार्डको कुरा गर्दा २०७० सालमा पोखराको गोर्खाली रेडियोले आयोजना गरेको अवार्ड हात पारे । उक्त अवार्ड ‘आमा’ बोलको मर्मस्पर्शी भावको गीतले दिलाएको थियो । आधुनिक गीतको विधाबाट २०७५ सालमा ओए अवार्ड हात पारे । त्यसपछि उनले छवि छायाँ क्रियसनले आयोजना गरेको तीज अवार्डमा उत्कृष्ट म्युजिक कम्पनीको अवार्ड पाए । स्याङ्जा टक्सार सेवा समाज, नेपाल लोक सञ्चारकर्मी नेपाललगायतका संस्थाहरूबाट सम्मानित भएका छन् । उनले भने, ‘पछिल्ला चरणमा आयोजना हुने अवार्ड ९केही बाहेक० खरिद बिक्री हुने वा निष्पक्ष नहुने लागेर कुनै पनि अवार्डमा सहभागी भएको छैन् । सम्मान दिनभन्दा पैसा कमाउनका लागि हुने अवार्डमा किन सहभागी बन्ने भन्ने प्रश्न अवार्डको मर्म बुझ्नेहरूलाई लाग्दो रैछ ।’

कुनैबेला पाखे मानिएको लोकदोहोरीको क्रेज देश विदेशमा मौलाएको सर्जक पौडेल बताउँछन् । ‘पहिले लोकदोहोरी पो भन्नेहरू अहिले सुन्छन्, सुन्ने मात्र होइन् छमछमी नाच्छन् ।’ उनले थपे, ‘दोहोरीलाई यो अवस्थामा देख्दा दोहोरीलाई आधार बनाएर संगीत कर्म गरिरहेको म अत्यन्तै खुसी छु ।’ पछिल्लो समय युट्युबमा फस्टाएको प्रत्यक्ष दोहोरीलाई उनले सकारात्मक ठान्छन् । प्रतिभावान् कलाकारलाई युट्युब, टिकटक प्लेट फर्म बनेको छ । ‘अहिले गीत रेकर्डिङभन्दा दोहोरी सुटिङ आकर्षित भएको पाउँछु । कम लगानी, भ्युज र आम्दानी बलियो भएपछि कलाकार आकर्षित भएका छन् । धेरै कलाकारले अर्मपर्म शैलीमा प्रत्यक्ष दोहोरी रेकर्ड गराएर टिक्ने मेसो समातेका छन् ।’ सर्जक पौडेलले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार