जस्को स्वर १० हजार बढि गीतमा रेकर्ड भए

  हिमाल समाचार
399 Shares

जब ‘मनको देउतैले’दोहोरी गीत गाए, तब पछि फर्कन परेन खुमन अधिकारीलाई । गीत हिटपछि एक पछि अर्को गीतको अफर आयो । उनले दिनमा १२ वटा सम्म गीत गाएको गाएका छन् । ‘चलेको बेला दिनमा सबैभन्दा बढि १२ वटा गीत गाएको रेकर्ड छ । त्यो बेला भ्याइनभ्याई थियो ।’उनले भने । त्यो समयमा खुमनले एउटा गीत गाएको तीन हजार लिन्थे ।

उनले दोहोरी गीत गायन यात्रा २०६३ साल देखि शुरु गरे । ‘इश्वर पनि देब्रे परेछन्’बोलको गीत शुरुको रेकर्ड गीत हो । उक्त गीत गाउदा उनले पारिश्रमिक दुई हजार पाएका पाए । पहिलो गीत रेकर्ड गरेलगत्तै सोही स्टुडियोमा अर्को गीत रेकर्ड गर्ने अवसर पाए । कुराकानीका क्रममा खुमनले ती दिन सम्झिए, ‘इश्वर पनि देब्रे परेछन्’भन्ने गीत नै पहिलो रेकर्डिङ थियो । सीता पौडेलको गीत थियो । त्यो गीत रेकर्डपछि सोही दिन उही स्टुडियोमा अर्को गीत पनि रेकर्डको अवसर पाए । त्यो दिन अझै सम्झिन्छु ।’ उनको दोस्रो गीत ‘रानी वनमा मयूर नाचेको’ हो ।

इश्वर पनि देब्रे परेछन् गीतबाट लोक गायन शुरु गरेका खुमनको ईश्वर दाइने परेछ । उनको स्वरलाई मन पराउनेको संख्या बढ्न थाले । जब राज कुमार बगरको सृजनामा ‘मनको देउतैले’गीत गाए, तब खुमन स्थापित गायक बन्ने बाटोमा दौडिन थाले । ‘त्रिवेणीमा गीत रेकर्डिङ पछि सर्जक बगरले हात मिलाएर ‘बजार अब हजुरको हो’भनेको अझैपनि ताजै लाग्छ ।’खुमनले बताए । त्यसलगत्तै ‘जोर शंख फुकेर’, ‘एउटै डोरी पासो लगाम भो’ लगायतका गीत ब्याक टु ब्याक गाए । अधिकांश गीत हिट भए ।

खुमन अधिकारी, लोक गायक

स्याङजाको कालिगण्डकीमा जन्मेका खुमनले २०६३ साल यता १० हजार भन्दा बढि गीतमा स्वर रेकर्ड गराएका छन् । एक समय थियो, उनको मात्रै स्वरमा गीत आउथ्यो । उनले ती दिन सम्झदै भने, ‘रेकर्डिङमा निकै भ्याइनभ्याई हुन्थ्यो ।’ ‘मनै छैन र’, ‘त्यो मन रुन्न होला र’, ‘भकारीमा धानछ’, ‘कपाल कोर्ने काँइयो’, ‘सिलाइदिउँला भोटो’, ‘भन्ने गर्थे बाले’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘स्याङजाली–झापाली’ जस्ता सयौँ गीत खुमनको स्वरमा रेकर्ड गरिएको छ । जस्ले लोक पारखिको मन मस्तिष्कमा डेरा जमाउन सफल बने । खुमन अहिले पनि थाकेका छैनन् । तिज, तिहारमा होस् वा लगनको मैनामा वा अन्य समयमा लोक कृती सहित डिजिटल बजारमा पनि रमाइरहेका छन् ।

उनका पछिल्ला दुई लोक गीत बजारमा छन् । ‘राजकुमारी’ र ‘सानुकै अंगालो’ यी दुवै गीत माया पिरतीमा आधारित छ । मेला महोत्सब धाइरहेका खुमनले ४ बर्ष दोहोरी साँझमा पनि काम गरे । जहाँबाट उनी खारिएर व्यवसायिक गायनमा अघि बढे । उनले भने, ‘दोहोरी साँझ प्रत्यक्ष दोहोरी गायनका लागि सिकाइको विशेष थलो हो । त्यहीबाट संगीतको आधारभूत ज्ञान समेत दिन सकिन्छ । मेरो आधार दोहोरी साँझ नै हो ।’

तिजमा उनी गायन र सृजना अलि बढि सक्रिय हुन्छन् । उनका दर्जनौ गीत दर्शक स्रोताले मन पराएका छन् । ‘आज त भेट्न आउदिन है कालु’, ‘भगेँरी चरी’, ‘झुम्का लगाउछु’, ‘झ्यालको पर्दा खोल’, ‘यो मान्छे चिन्छौ’, ‘अब होला केही’, ‘यत्तिकोले चल्छ’ लगायतका लोक भाका मन पराइएको छ । संख्यात्मक हिसावले १० हजार बढि गीत गाएका खुमन अब भने गुणस्तरिय गीत गाउन चाहन्छन् । उनी भन्छन्, ‘व्यवसायिक गायक भएकाले संख्याको हिसावले हजारौँ गीत गाए । अब गुणात्मक गीत गाउछु । जबसम्म स्वरले साथ दिन्छ तबसम्म गीत गाइरहन्छु ।’

गाउँबाट गायक बन्ने सपना बोकेर काठमाण्डौँ छिरेका खुमन शुरुवाती दिनमा निकै आत्तिए । उनी काठमाण्डौमा टिक्न नसकेर ४ पटक सम्म गाउँ फर्किए । जतिपटक घर पुग्थे । त्यतिपटक परिवारले काठमाण्डौँ फर्काउथे । अन्तत, सघर्षले स्थापित लोक गायक बनायो । उनको काठमाण्डौँमा घर बनिसक्थ्यो । बाधक कोरोना भाइरस बन्यो । दुई बर्ष खाली हात बस्दा थप प्रगतिहरु अवरुद्ध भएको उनको भनाई छ । ‘कोरोना नआएको भए राजधानीमा घर बनिसक्थ्यो होला ।’उनले भने । खुमनका केही समकक्षि गायकले काठमाण्डौँमा स्थायी बसोबासको प्रबन्ध मिलाइसकेका छन् ।

‘कुनैबेला खुमनकै साथीहरुले स्वरलाई लिएर चल्दैन् भन्थे । दुख लाग्थ्यो । पछि यहि स्वर बजारको माग बन्यो ।’सघर्षका दिन सम्झदै खुमनले भने, ‘बजारमा चलेपछि त्यो बेला होच्याउने सजर्कको पनि गीत गाएको छु । कुनै रिषिबी साधिँन । किनकी, व्यवसायिकतामा त्यो राम्रो होइन जस्तो पनि लाग्यो । अर्को कोणबाट मुखले नभने पनि कुनै बेला चल्दैन भनेको स्वरको डिमाण्ड हुनु नै सफलता ठाने ।’

लाइभ दोहोरीको फैलावटलाई गायक अधिकारी सकारात्मक रुपमा लिन्छन् । ‘व्यवसायिक हिसावले पनि रेकर्ड गीत भन्दा पुरानो भाकामा गाइएको दोहोरीले भ्यूज पाउनु र उत्पादनको हिसावले लगानी कम लाग्नुलाई राम्रो रुपमा लिनुपर्छ ।’उनले थपे, ‘हिजो दोहोरीको मज्जा लिन कि दोहोरी साँझ धाउनुपथ्र्यो की, मेला महोत्सबमा आयोजना हुने प्रतियोगीता पर्खनुपथ्र्यो । अहिले घरमै बसेर दोहोरीको मज्जा लिन पाइएको छ । यो निकै खुसीको कुरा पनि हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार