‘राम्रा दोहोरी कलाकारलाई पुरस्कृत गर्ने परम्पराको विकास गरिनुपर्छ’

  हिमाल समाचार
266 Shares

कुनै समय दोहोरीको रेकर्ड गीत र भिडियोमा अश्लिलताले प्रसय पाएको आलोचना हुन्थ्यो । तर अहिले डिजिटल प्लेट फर्मका लागि गाइने लाइभ दोहोरीमा देखिएको छाडा तथा द्धिअर्थी शब्दको प्रयोगबारे चिन्ता बढेको छ । यूटुवमा भ्यूज र सस्तो चर्चाका लागि कतिपय कलाकारले दोहोरीमा छाडा तथा द्धिअर्थी शब्दको प्रयोग गरेको पाइन्छ । कतिपय कलाकारको यस्ता कामको आलोचना बढ्न थालेपछि सरोकार राख्ने संस्थाले समस्या न्यूनिकरणका लागि छलफल थालेको छ ।

केही दिन अघि मात्र लोक कलाकारको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लाइभ दोहोरी गायन तथा संचालनमा संलग्न कलाकार तथा व्यवसायिसँग छलफल गरेको थियो । सो छलफलमा लाइभ दोहोरीलाई सभ्य बनाउने विषयमा प्रतिबद्धता व्यक्त गरिएको छ । त्यस छलफलले मात्र समस्या समाधान हुने देखिदैन् । यहि लाइभ दोहोरीमा देखिएको समस्या समाधानका विषयमा सहकर्मी शिखर जंग श्रेष्ठले प्रत्यक्ष लोकदोहोरी कलाकार संघका अध्यक्ष रविन लामिछानेसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाई अध्यक्ष बनेपछि लाइभ दोहोरीको व्यवस्थापनमा कस्तो रणनिति बनाउदै हुनुहुन्छ ?
पछिल्लो समय व्यवसायिक र लोकप्रियताको हिसावले माथी छ । बजारमा लाइभ दोहोरीको स्टुडियो, रेकर्डिङ र सार्वजनिकीकरणको हिसावले बाक्लिदो छ । मौलाउदो लाइभ दोहोरीको व्यवस्थापनका लागि नै संस्थाको आवश्यकता ठान्यौ र स्थापना गरेका हौँ । मलाई विश्वास गरेर नेतृत्व गर्ने अवसर दिनुभएको छ । मैले गर्नुपर्ने काम र चुनौति उत्तिकै छन् ।

पछिल्लो समय लाइभ दोहोरीको विकाससँगै विकृति मौलाएको गुनासो पनि आएका छन् । बजारमा सार्वजनिक दोहोरी छाडा भएको गुनासाहरु आएका छन् । त्यस्ता कलाकारलाई सम्झाइबुझाई गर्ने, द्धिअर्थी शब्द प्रयोगमा निरुत्साहीत गर्ने काम मेरो नेतृत्वमा हुनेछ । त्यसमा मेरो विशेष ध्यान जाने छ । समयानुकुल योजना बनाउने र कार्यान्वयन गर्ने काम गछौँ ।

पछिल्लो समय दोहोरी प्रतियोगीता एकदम कम हुदैँ गएको छ । त्यसको बढवाको लागि हाम्रो भूमिका रहन्छ भने लाइभ दोहोरी कलाकारको संस्था भएकाले ती कलाकारलाई दुख पर्दा सारथी बन्न सक्ने कोष स्थापना गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि मैले महसुस गरेको छु ।

कोरोना महामारीपछि ह्वात्तै विकास भएको प्रत्यक्ष दोहोरीमा चर्चा र भ्यूजको नाममा देखिएका विकृतिलाई घटाउने उपाय के छन् ?
मलाई कस्तो लाग्छ भने कतिपय कुरामा विरोधका लागि विरोध जस्तो पनि लाग्छ । तिललाई पहाड बनाएर सन्तुष्टि लिने जमात पनि छ । यसो भन्दै गर्दा विकृति छैन् भन्ने पनि होइन । न्यूनिकरणका लागि विकृतिको जरो पत्ता लगाउनुपर्छ । मतलब, विकृति कहाँबाट शुरु भएर फैलदो छ । पहिचान गर्नुपर्छ । त्यस्ता गीत कुन कलाकारले गाउदै आएका छन् । त्यस्ता दोहोरी अपलोड गर्ने च्यानल पत्ता लगाएपछि ध्यानाकर्षण गराउने वा सम्झाउने हो । विभिन्न छलफलबाट प्रतिबद्धता जनाउन लगाउने हो । एउटा व्यक्ति प्रतिबद्ध रहने वित्तिकै सुधार संभव छ । हामीले विकृति फैलाउने कलाकारलाई कारबाहीको दायरामा ल्याउन सक्दैनौ तर कलाकारको मर्यादाका लागि पनि सुधारका लागि प्रतिबद्धता खोज्ने काममा हामी सक्रिय रहन्छौ ।

कतिपय कलाकारले दोहोरीको मर्म नबुझेर वा चेतनाको अभावमा सभ्यताको ट्रयाक छाडेको अवस्था पनि देखिन्छ । लाइभ दोहोरी सुधारको सन्दर्भमा मैले एउटा प्रस्ताव पनि ल्याएको छु । त्यो भनेको के हो भने राम्रो दोहोरी गाउने कलाकारलाई पुरस्कृत गर्ने वा सम्मान गर्ने । त्यसले कलाकारलाई सभ्यताको सीमा भित्र रहेर दोहोरी गाउन प्रोत्साहित गर्छ । राम्रो गर्नेलाई वेवास्ता गर्ने, नराम्रो गाउनेको आलोचना गर्ने संस्कारले मात्रै पनि सुधार आउदैन् । राम्रा गाउनेलाई पुरस्कृत गर्ने परिपाटीले गर्दा नराम्रो गाउनेलाई पनि सही बाटोमा हिँडाउन प्रेरित गर्छ भन्ने मेरो बुझाई छ । पहिलो चरणको अभियान भनेको सम्झाइबुझाई गर्ने नै हो ।

तपाई आफैँ प्रत्यक्ष दोहोरीमा माहिर कलाकार हो । खास दोहोरीमा छाडा वा द्धिअर्थी शब्द प्रयोग गर्ने अवस्था कस्तो बेलामा आइपर्छ ?
वास्तवमा दोहोरीको कुनै दायरा वा सिमाना हुँदैन् । कुनैपनि विषयमा दोहोरी गाउदा कथाले कस्तो मोड लिन्छ भन्ने हो । त्यो कथामा आवश्कता अनुसार परिवेशमा शब्दो संयोजन गर्नुपर्छ । दोहोरी पनि अन्य खेलजस्तै भएकाले जित्नका लागि गाइन्छ । दुवै पक्ष हार्न चाहदैन् । जित्नका लागि गाउदै गर्दा कहिलेकाही सामाजिक सीमा पनि नाध्नुपर्ने परिस्थिती आउन सक्छ । त्यसलाई कति उदांगो पाराले प्रस्तुत गर्ने भन्ने अधिकार वा क्षमता फेरि स्वयम् कलाकारमा हुने गर्छ ।

गाउने क्रममा छाडा वा द्धिअर्थी शब्दको प्रयोग हुनसक्छ । त्यस्तो अवस्थामा रेकर्ड दोहोरीमा सम्पादन गर्नुपर्छ । अलि बढि नै भयो भन्ने लागेमा कलाकारले अर्को टुक्काको खोजी गर्नुपर्छ भने व्यवसायिले पनि भाइरल र भ्यूजको नाममा सेन्सर गर्न सक्नुपर्छ । नियमन गर्ने निकाय छैन् । कस्ले के गर्छ भन्ने हेतुले प्रस्तुत भयौँ भने आफू स्वयम् गरि खाने क्षेत्र दुषित बन्छ । हरेकले आ–आफ्नो स्थानबाट सभ्यताको सीमाभित्र रहेर काम गर्ने हो भने विकृति पनि भित्रदैन् । सुधार पनि संभव देखिन्छ ।

तपाई नेतृत्वको संस्थाले स्टुडियोमा गाइने दोहोरीको मात्रै नियन्त्रण गर्छ की स्टेजमा गाइने दोहोरीको पनि ?
हामीसँग निगरानि राख्ने अधिकार छैन् । हामी आफ्नो सहजता र हकहितका लागि साझा रुपमा एकजुट भएका हौँ । सयौँ कलाकारको गतिविधि निहाल्न संभव छैन् । सबैभन्दा ठूलो कुरा एउटा व्यक्तिको प्रतिबद्धता हो । स्वयम् कलाकार आफ्नो काम प्रति इमानदार भयो र सामाजिक दायरालाई भुलेन भने उस्ले गुनासोरहित नतिजा दिन सक्छ भन्ने हो ।

दोहोरीमा भाका प्रयोग गरेवापत रोयल्टी दिने चलन अभ्यासमा छैन् । त्यसकारणले पनि असन्तुष्टिका गुञ्जायस सुनिन्छ । यो विषयमा के भन्नुहुन्छ ?
एउटा सर्जकले एउटा सृजना बजारमा ल्याउन कति मेहनत गर्नुपर्छ भन्ने कुरा त भोग्नेलाई थाहा हुन्छ । कुनै गीत भर्खर बजारमा आएर व्यापार गरिरहेको अवस्थामा व्यवसायिक प्रयोगका लागि दोहोरीमा गाएर अपलोड गर्दा लाखौँ लगाउनी गरेर अडियो भिडियो गरेको भन्दा बढि भ्यूज त्यही भाकामा गाइएको दोहोरीले पाउने गरेको केही घटना पनि छन् । त्यस्तो अवस्थामा सर्जक मार पर्दछन् । त्यसमा हामी कलाकार वा व्यवसायिक सचेत रहनुपर्छ ।

अर्को चाँही जो कोही सर्जकको भाका प्रयोग गर्दा पनि रोयल्टी तिर्नुपर्छ । तर के मापदण्डमा सर्जकलाई कति दिने भन्ने नहुँदा यो विषय अन्यौल नै छ । मापदण्ड बनाउन सके जो कोहीले पनि सर्जकलाई रोयल्टी दिन सहमत हुनुपर्छ र हुनुहुन्छ भन्नेमा म विस्वस्त छु ।

रविन जी, प्रत्यक्ष दोहोरीमा नयाँ भाका प्रयोग गर्ने अभ्यासबारे के भन्नुहुन्छ ? केहीले शुरु पनि गरेको नजिर भेटिन्छ तर निरन्तरता पाइदैन् ।
केही प्रयास सफल पनि भएका छन् । तर के सत्य हो भने एउटा चलेको पुरानो भाकामा दोहोरी खेल्नु र एउटा राम्रो नयाँ भाकामा दोहोरी खेल्न निकै फकर छ । नयाँ भाकामा दोहोरी खेल्न निकै गाह्रो हुन्छ । सुन्नेलाई पनि खास मजा आउदैन् । किनकी स्रोता दर्शकका लागि पनि त्यो भाका नयाँ हुने हुदाँ समस्या देखिन्छ । तर केही नयाँ भाकामा गाइएका दोहोरीले पनि स्रोता दर्शकको मन नजितेका भने होइनन् । गायन सहजताको हिसावले चलेका भाका नै दोहोरीको लागि उपयुक्त लाग्छ ।

फेरि, रोयल्टीको कुरालाई छाडेर कुरा गर्दा दोहोरीमा पुराना चलेका भाका प्रयोग गर्दा सर्जकलाई पनि अप्रत्यक्ष फाइदा पुगेको देखिन्छ । दशकौँ पहिले रेकर्ड भएका र लोकप्रिय बनेका भाका नयाँ पुस्ता धेरैले सुनेका हुदैनन् । त्यस्ता थुप्रै उदाहारण पनि छन् की लाइभ दोहोरी गाइसकेपछि भाका पुर्नजीवित बन्नुले वास्तविक सर्जकलाई फाइदा पुगेको देख्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार