सल्लेरी–लिखुपिके जोड्ने टाक्टोर–लामाजुरा सडक ट्रयाक ओपन सुरु

  हिमाल समाचार
735 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरी र लिखुपिके गाउँपालिका जोड्ने टाक्टोर–लामाजुरा सडक ट्रयाक ओपन सुरु गरिएको छ । सो सडकको बुधबार एक कार्यक्रमको आयोजना गर्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले ट्रयाक ओपनको काम शुरु गरेका हुन् ।

लामो समय वन क्षेत्रको विवादका कारण रोकिएको सडक ट्रयाक ओपनको काम सरकारले २.५७ हेक्टर जग्गा सडकका लागि उपभोग गर्न दिने निर्णय गरेसँगै ट्रयाक ओपनको बाटो खुलेको थियो । सडक ओपन शुरु गर्नु अघि सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ स्थित टाक्टोर सामुदायीक बन क्षेत्रको २.५७ हेक्टर जग्गा नगरपालिकालाई भोगाधिकार दिने र ३ सय ५५ वटा रुख हटाउने गरि बन तथा भूसंरक्षण विभागसँग सम्झौता भएको थियो ।

मेयर शेर्पाले टाक्टोर–लामाजुरा सडक ट्रयाक ओपनका निकै कसरत गरेको बताए । डिपिआर, इआइए, भोगाधिकारका लागि स्विकृति, सडकले ओगट्ने जमिन सट्टामा राज्यको नाममा दिनुपर्ने लगायतका लामो प्रक्रियापछि सडक विस्तार गर्नसक्ने अवस्थामा आइपुगेको शेर्पाले बताए ।

लिखुपिके ५ का वडाअध्यक्ष ङिमाछिरि लामाले आफ्नै जिल्लाको सदरमुकाम पुग्नका लागि अर्को जिल्ला चाहर्नुपर्ने समस्याको अन्त्य हुने बताए । लिखुपिकेका नागरिक सदरमुकाम सल्लेरी आवतजावत गर्नका लागि रामेछाप, सिन्धुली, ओखलढुंगा घुमेर आउनुपर्ने बाध्यता छ ।

लामो समय देखि विस्तार रोकिएको सडकको काम शुरु भएपछि लिखुपिकेबासीले खुसी व्यक्त गरेका छन् । लिखुपिके ५ का सुब्बा तामाङले सडक सञ्जालले सोलुदुधकुण्ड र लिखुपिके जोडिनासाथ यात्राका लागि सहज हुने बताए । उक्त सडक निर्माण भएपछि सोलुदुधकुण्ड नगरपालिकाको टाढाको गाउँ टाक्टोरबासीलाई पनि निकै राहत पुग्ने देखिन्छ । सोनाम शेर्पाले सडक विस्तार र संचालनले टाक्टोरका नागरिकलाई पनि सजिलो हुने बताए । टाक्टोरबाट शुरु सडक विस्तारको काम लामाजुरा पाससम्म जोड्नेछ ।

उक्त सडक जोडिएसँगै जिल्लालाई काठमाण्डौसँग जोड्ने वैैकल्पिक मार्गको रुपमा प्रयोगमा आउने र दोलखाको जिरि हुँदै सिधैँ सल्लेरी आवतजावत गर्न सकिने संभावना छ । सडक शिलान्यास कार्यक्रममा सोलुदुधकुण्डका उपमेयर कल्पना राई, सोलुदुधकुण्ड ४ का वडाअध्यक्ष दावागेलु पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।

सडक शिलान्यास पछि मेयर शेर्पासहितका सरोकारवालाको भनाई सुन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार