करारको कर्मचारी हटाउने निर्णयको प्रभाव, नेचासल्यान अस्पतालसहित ५ स्वास्थ्य संस्था बन्द

  हिमाल समाचार
1k Shares

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले साउन १ (आजदेखि)करारको कर्मचारीको म्याद थप नगर्ने निर्णय लिएपछि नेचासल्यान अस्पतालसहित ५ स्वास्थ्य संस्था बन्द भएका छन् । पुरापुर करारको कर्मचारीबाट संचालनमा रहेको नेचासल्यान अस्पताल आजदेखि बन्द गरिएको छ ।

अस्पताल संचालक समितिका उपाध्यक्ष दोमराज बास्तोला र डा. अमन कुमार शाहले सूचना जारी गर्दै करार कर्मचारीको म्याद थप नहुने भएपछि अस्पताल बन्द रहने जानकारी गराइएको छ । कोभिड अस्पताललाई नेचासल्यान अस्पतालमा परिणत गरि संचालित अस्पतालमा एक चिकित्सकसहित दुई अहेव, एक अनमी, एक ल्याव असिष्टेन्ट र दुई कार्यलय सहयोगी कार्यरत थिए ।

नेचासल्यान १, ४ र ५ मा संचालित आधारभूत स्वास्थ्य सेवा केन्द्रपनि अर्को व्यवस्था नहुन्जेलसम्म बन्द रहनेछ । ती स्वास्थ्य सेवा केन्द्रमा एक अहेव, एक अनमी र एक कार्यलय सहयोगी कार्यरत थिए । एक अहेव र एक कार्यलय सहयोगीको भरमा सेवा प्रवाह गर्दै आएको सामुदायीक स्वास्थ्य इकाई पनि आज देखि बन्द भएको छ ।

एक चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मी करारमा कार्यरत रहेको सल्यान प्राथमिक स्वास्थ्य केन्द्र सल्यानले अत्यावश्यक सेवा (ओ.पि.डी. र प्रसुती) बाहेका सेवा बन्द गर्ने भएको छ । ५ जना मात्र स्थायी स्वास्थ्यकर्मी रहेको स्वास्थ्य केन्द्र जनशक्तिको अभाव देखाउदै सेवामा कटौति गरेको हो । म्याद थप नगर्ने पालिकाको निर्णयसँगै वरडाँडा स्वास्थ्य चौकीमा एक अहेव र वेतघारी स्वास्थ्य चौकीमा एक कार्यलय सहयोगीसहित स्वास्थ्य क्षेत्रमा मात्रै २७ जना करारका स्वास्थ्यकर्मी स्वतःहटेका छन् । जस्को प्रभाव स्वास्थ्य सेवा प्रवाह देखिएको छ ।

करारको कर्मचारी हटाउने पालिकाको निर्णय फिर्ता लिन नेपाल निजामति कर्मचारी संगठन नेचासल्यानले माग गरेको छ । अध्यक्ष यूवराज शर्माले विज्ञप्ती जारी गर्दै करारको कर्मचारीको म्याद नथप्ने पालिकाको निर्ण अलोकतान्त्रिक भएको भन्दै निर्णय फिर्ता लिएर उचित व्यवस्थापनका लागि माग गरेको छ ।

करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय लिएको नेचासल्यान गाउँपालिकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने भएको छ । नेचासल्यान उपाध्यक्ष विना राईले रिक्त पदपुर्तीका लागि यथासिघ्र भर्ना प्रक्रिया शुरु गर्ने तयारी गरिएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार