अहेब शेर्पाको विदाईसँगै मन्जो क्लिनिक कर्मचारीविहिन

  हिमाल समाचार  402 पटक हेरिएको

खुम्बु पासाङ ल्हमु गाउँपालिका ३ मन्जोबाट मन्जो क्लिनिकमा कार्यरत अहेव लाक्पा गेल्जेन शेर्पालाई आइतबार विदाई गरिएको छ ।

हिमालयन ट्रष्ट नेपालको व्यवस्थापन तथा खुन्दे अस्पतालको मातहतमा संचालित उक्त क्लिनिक श्रावण १ बाट खुम्बु पासाङ ल्हमु गाउँपालिका मातहातमा संचालन हुने भएपछि अहेव शेर्पाले क्लिनिक छाडेका हुन् । उनलाई स्थानीय संघ संस्थाका प्रतिनिधि तथा साविकको चौरिखर्क १ का स्थानीयको उपस्थितिमा बिदाई गरिएको छ ।

युवा बर्षा आधारभुत बिद्यालयका पुर्र्व अध्यक्ष पासाङ शेर्पाले बोल्दै पालिकाले अहेव शेर्पालाई पाखा लगाउने द्येयले पालिका मातहतमा संचालन गर्ने निर्णय लिएको आरोप लगाउदै जनतालाई स्वास्थ्य सेवाबाट बन्चित नगर्न आग्रह गरे ।

खुम्बियुला महिला समुहको सचिव डोल्मा दिकि शेर्पाले योगदानको चर्चा गर्दै पुनःनियुक्तिको माग गरिन् । हिमालयन मध्यवर्ती समुदायका अध्यक्ष दावा गेल्जेन शेर्पाले अहेव शेर्पाको पुनःनियुक्तिको माग गर्ने बताए ।

त्यस्तै, मन्जो खोला लघुजलविद्युतका अध्यक्ष निम तेन्जिङ शेर्पाले अहेब शेर्पाको योगदानको प्रसंशा गरे । अहेव शेर्पाको विदाई सँगै मन्जो क्लिनिक स्वास्थ्यकर्मीविहिन बनेको छ ।

उनकै पुनःनियुक्तीका लागि स्थानीयको हस्ताक्षर संकलनको तयारी गरिएको छ । चौरीखर्क १ का नागरिक अब लुक्ला वा खुन्दे अस्पताल जानुपर्ने बाध्यता सृजना भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार