सोलुबाट १२ सय क्विन्टल भन्दा बढी जडिबुटी निकासी

  हिमाल समाचार  139 पटक हेरिएको

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट एक आर्थिक बर्षमा १२ सय क्विन्टल भन्दा बढी जडिबुटी (गैर काष्ठ वन पैदावर) निकासी भएको छ । गत आर्थिक बर्ष २०७८/०७९ मा जिल्लाको सामुदायिक, निजि र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८.३ क्विन्टल जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीका अनुसार सामुदायिक वनबाट ६० हजार ६ सय १० किलो, निजी वनबाट ४९ हजार एक सय किलो र राष्ट्रिय वनबाट १५ हजार १२० किलो जडिबुटी निकासी भएको हो ।

कार्यालयको तथ्यांक अनुसार लिखुपिके, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिका क्षेत्रबाट बढी मात्रा गैर काष्ठ वन पैदावर निकासी भएको छ । जिल्लामा सामुदायिक वन ३२ हजार ७ सय ३.९६ हेक्टर, निजी १८५.५ हेक्टर र राष्ट्रिय वन ६ हजार ८ सय ८५.३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

ति वन क्षेत्रहरुबाट मछिनो, चिराईतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात तथा चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल, पाखम्भेद, बुकीफुल लगायतका जडिबुटी निकासी हुने गरेको अधिकृत चौधरीले बताए ।

उक्त जडिबुडीहरु औषधीका लागि झापा, काकड्भिट्टा, काठमाण्डौँ हुँदै भारत निकासी हुने गरेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार