सोलु र ओखलढुंगामा कांग्रेस र खोटाङमा एमाले पहिलो दल

  हिमाल समाचार  240 पटक हेरिएको

सोलुखुम्बु – स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेद्वारले पाएको मतका आधारमा सोलुखुम्बुमा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल देखिएको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वारहरुले जम्मा १९ हजार ६८ मत प्राप्त गरेका छन् । यस्तै दोश्रोमा नेकपा एमालेले १६ हजार ५९७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले १२ हजार ४२५ मत, नेकपा एस १६३ मत र जसपाले १४२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

जिल्लाको ५२ वडामध्ये कांग्रेसले २४ वडा, नेकपा एमालेले १८ वडा र माओवादी केन्द्रले वटा ९ वडाको वडाध्यक्ष जितेको छ । लिखुपिके गाउँपालिका ३ मा एक स्वतन्त्र उम्मेदवार पनि वडाध्यक्षमा विजयी बनेको छ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १६५ क्षेत्रमा दलहरुको स्थिति आँकलन गरिन्छ । तर थपिने मतदाता र गठबन्धनका आधारमा पनि प्रदेश र प्रतिनिधिसभाको चुनावी नतिजा निर्भर हुनेछ ।

जिल्लामा स्थानीय तहको निर्वाचनमा मतदाता संख्या ८० हजार १९ जना रहेको थियो । अहिले प्रदेश र संघको निर्वाचनलक्षित मतदाता परिचय पत्र संकलनको काम भइरहेको छ ।

यस्तै ओखलढुंगामा कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले ३२ हजार २८८, एमालेले २९ हजार ५९१, माओवादी केन्द्रले ६ हजार ९१६, जसपा २ हजार १०४, नेकपा एसले ५२१ र राप्रपाले १४६ मत प्राप्त गरेका छन् ।

खोटाङमा एमालेका वडाध्यक्षका उम्मेद्वारले २८ हजार ७९७, कांग्रेसले २६ हजार ६३३, माओवादी केन्द्रले १८ हजार ७३६, जसपाले २ हजार ९१६, नेकपा एसले २ हजार १४४, र राप्रपाले ८१५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार