सोलुका खड्का दाजुभाईलाई ठगीको आरोप

  हिमाल समाचार
11.4k Shares

सोलुखुम्बुका एक खड्का दाजुभाईलाई ठगीको आरोप लागेको छ । महाकुलुङ घर भएका सुनिल खड्का र रमेश खड्काले वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोप लागेको हो । थाइल्याण्डको स्टार होटलमा काम लगाइदिने भनि ४ लाख ५० हजार रकम लिएर भनजस्तो काम नलगाएको र विभिन्न आश्वासन दिदैँ हालसम्म सो रकम फिर्ता नदिएको पिडित यूवाहरुले आरोप लगाएका छन् ।

सोलुका पिडित यूवा गेलु पाख्रिनका अनुसार खड्का दाजुभाईले ८ महिनाको खाना र पेय पदार्थको कोषका साथै फाइभ स्टार होटलमा तालिम लिएपछि थाइल्याण्डको स्टार होटलमा काम लगाइदिने, दुई महिनाको तालिमपछि ८ महिना इन्टनसीप गर्न पाइने, त्यसबाट मासिक १५ हजार देखि २५ हजार थाइ भाट कमाई हुने, ८ महिनाको इन्टनसीपपछि ४० देखि ४९ हजार थाई भाट हुने आश्वासनमा मार्च सन् २०१९ मा थाइल्याण्ड उडाएका हुन् ।

तालिमको लागि तयार पारिएको इन्टरनेश्नल होटल तथा एयरलाइन्स विजनेस स्कुललाई अन्तराष्ट्रिय विद्यार्थी पढाउन अनुमति नभएको पाइएको पिडित यूवाहरुको भनाई छ । विभिन्न कारणले भिषा थप्न नमिलेपछि १० जना नेपाली यूवाहरु स्वदेश फर्किएको र खड्काले ४ जना यूवाहरु गेलु पाख्रिन, विजय वन, सरल सिग्देल र सुवास अर्याललाई ५ प्रतिशत शेयर र मासिक १५ हजार थाई भाटसहित खान बस्नको व्यवस्था मिलाउने गरि स्थानीय लाउण्ड्रीमा जागिर लगाएको र थाइल्याण्डमा भनेजस्तो नभए यूरोप, क्यानडा पठाइदिने आश्वासन दिएको पिडित यूवाले नेपाली राजदुतावास, थाइल्याण्डमा पेश गरेको उजुरी निवेदनमा उल्लेख गरिएको छ ।

खड्का दाजुभाईले अगष्ट सन् २०१९ मा नन वि भिषा पठाइदिने आश्वासनमा नेपाल पठाएको र ५ महिनापछि थाइल्याण्ड लगेर डि लाउण्ड्री मार्टमा जागिर लगाएको तर कोरोनालाई कारण देखाउदै ९ महिनासम्म पनि पारिश्रमिक नदिएपछि आफ्नै पैसाले नेपाल फर्किन बाध्य बनाएको दुतावासमा पेश गरिएको निवेदनमा उल्लेख छ । पिडित यूवाले शुरुको लागत ४ लाख ५० हजार, ९ महिनाको पारिश्रमिक र नेपाल फर्कदाको टिकट खर्चको माग गर्दै दुतावास गुहारेका थिए ।

दुतावासले २०७८ भदौ २ गते उजुरीमाथि छानविन र कारबाहीका लागि नेपाल स्थित परराष्ट्र मन्त्रालयलाई पत्र लेखेपनि अझैसम्म न्याय नपाएको भन्दै पिडित चार यूवाले मिडिया गुहारेका छन् । उजुरी प्रहरी समक्ष पुगेपनि छानविन र कारबाहीको प्रक्रिया लम्बिएको बताइन्छ । खड्का दाजुभाईले रकम फिर्ता दिनुको सट्टा अन्य देशहरुमा पठाइदिने विभिन्न लोभ देखाउन नछाडेको उनीहरुको भनाई छ ।

प्रतिव्यक्ति ६ लाख २० हजार तिर्नुपर्ने रकम मध्ये एक–एक लाख रकम दिएको र अन्य रकमको चेक वाउन्स भएको पिडितको गुनासो छ । आरोपी भाई रमेश खड्काले पिडित भनिएकाहरुको समेत शेयर रहेको लाउण्ड्री कम्पनी डुबेकाले पारिश्रमिक नपाएको सत्य भएको तर आफूहरुले ठगी नगरेको बताए । अर्का आरोपित सुनिल खड्कालाई सम्पर्क गर्दा कल रिसिभ हुन सकेन । खड्का दाजुभाई दुवै भारतमा बस्दै आएको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार