दुधकुण्ड : सेनाले गर्‍यो पाँच सयलाई प्राथमिक उपचार, एकको उद्धार

  हिमाल समाचार
1.6k Shares

सोलुखुम्बु – सोलुखुम्बुको दुधकुण्ड मेला पुगेका पाँच सय जना भन्दा बढीलाई नेपाली सेनाको मेडिकल टोलिले प्राथमिक उपचार गरेको छ । सोलुदुधकुण्ड नगरपालिका १ मा अवस्थित दुधकुण्ड मेलामा लेक लागेर विरामी परेका ५५० जना भक्तजनहरुलाई अरिदमन गण सुरक्षा गुल्म सल्लेरीबाट खटिएका मेडिकल टोलिले उपचार गरेको नेपाली सेनाले जनाएको छ ।

गुल्मका प्रमुख मेजर उत्तर बहादुर चन्दको नेतृत्वमा दुधकुण्ड पुगेको टोलिले टाउको दुख्ने, वान्ता हुने, रिगांटा लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएका भक्तजनहरुको प्राथमिक उपचार गरिएको बताएको छ । साथै लेक लागेर सिकिस्त बनेका ५२ वर्षीया शक्तिमाया खत्रीलाई सेनाले उद्धार गरेको छ ।

सोलुदुधकुण्ड नगरपालिका १ घर भएका खत्री मन्दिरको दर्शन गरेर फर्किने क्रममा सहर्शबेनी आईपुगेपछि टाउको दुख्ने, वान्ता हुने, रिगांटा लाग्ने लगायतका समस्याका कारण सिकिस्त बनेकी थिइन् । उनलाई नेपाली सेनाले करिब २ घण्टाको पैदल दुरी सम्म बोकेर तल झारिएको मेजर चन्दले बताए ।

अवस्था सामान्य भएपछि खत्रीलाई घर पठाइएको नेपाली सेनाले जनाएको छ । समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा पर्ने दुधकुण्डमा शुक्रबार विषेश मेला लागेको हो ।

उच्च स्थान भएका कारण त्यहाँ पुग्दा कतिपयलाई लेक लाग्ने गरेको स्थानीयले बताएका छन् । सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो ।

जनैपूर्णिमा मेलामा हिन्दु मात्रै नभइ बौद्धमार्गी, किरातीहरु समेत दुधकुण्ड पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार