सोलुखुम्बु – सोलुखुम्बु प्रतिनिधिसभा तर्फ लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका बल बहादुर केसी २ हजार ६७ मतले पछि परेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका मनबीर राईले १५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका केसीले १३ हजार ८८९ मत प्राप्त गरेका छन् ।
सुरुवात देखि नै अग्रता कायम गरेका राईले पछिल्लो समय अग्रता बढाउदै लगेका छन् भने केसी पछाडी पर्दै गएका छन् ।
जिल्लामा सातौं पटक चुनाव लडेका केसी र एमाले उम्मेदवार राई विचको प्रतिश्पर्धालाई निकै रोचक मानिएको छ । अहिलेसम्म ३३ हजार २ सय ४४ मत गणना भईसक्दा एमालेले शुरुवाती अग्रतालाई कायाम राखेको हो ।
अब ७ हजार १ सय ८९ मत गणना गर्न बा“की रहेको छ । यस्तै जसपाका ल्हाक्पा शेर्पाले ६ सय ९२, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवाद) का विष्णु प्रसाद बास्तोलाले ४ सय १३, राप्रपाका ज्ञानेन्द्र बहादुर बस्नेतले २ सय २१ मत प्राप्त गरेका छन् ।
नेमकिपाका तारानाथ कट्टेलले १ सय १८, मङ्गोल नेसनल अर्गनाइजेसनका सौबिर राईले ९१ र सङ्गिय लोकतान्त्रिक राष्ट्रिय मन्चका लामु शेर्पाले २३ मत प्राप्त गरेको आयोगले जनाएको छ । आज दिउसो सम्म सबै मत परिणाम सार्वजनिक भईसक्ने बताईएको छ ।