करोड खर्चेर बनाइएको फाप्लु विमाानस्थलको प्रवेशद्वार वर्षौदेखि उपयोगविहिन

  सुबास दर्नाल
574 Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लु विमानस्थलमा निर्माण गरिएको मुख्य प्रवेशद्वार वर्षौदेखि उपयोग विहिन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाखको लागत भित्र २०७७ सालमा निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौदेखि प्रयोगमा आउन नसकेको हो ।

नयाँ निर्माण गरिएको विमानस्थल प्रवेश मार्ग प्रयोगमा आउन नसक्दा यात्रुहरु समस्या मोलेर साँगुरो मार्ग प्रयोग गर्न बाध्य छन् । विमानस्थल भित्रिने र बाहिरीने फरक फरक राखेर बनाइएको मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी तथा सुरक्षाकर्मीहरु कार्यालय प्रवेश गर्ने साँगुरो मार्ग प्रयोग गर्न यात्रुहरु बाध्य बनेका हुन् ।

बैकल्पिकमार्ग अत्यन्त साँगुरो हुँदा अत्यावश्यक विरामीहरु धावनमार्ग सम्म लैजानुपर्ने भएमा स्टेचर प्रवेश गराउन समेत कठिन रहेको प्रत्यक्षदर्शी बताउँछन् ।

साथै विमानस्थलमा ठुला समाग्रीहरु प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने भएमा समेत कठिन रहेको स्थानीय बताउँछन् ।

राज्यको करोडौँ लगानीमा निर्माण गरिएको उक्त संरचना वर्षौदेखि उपयोग विहिन हुँदा समेत सम्बन्धित पक्ष मुक दर्शक बनेका छन् । यता नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले उक्त गेटको प्रवेशद्वार भन्दा भित्र भागको वालको करिब ५ मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालन नगरिएको बताए ।

साथै धावनमार्ग माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मत पश्चातपछि मात्रै सञ्चालन गर्न सकिने आचार्यको भनाई छ । जसका लागि आफुले प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको उनले बताए । तर न त मर्मतमा कसैले चासो नै दिएको छ न त निर्माण सम्पन्न भएको संरचना सुचारु गराउनमै कसैको ध्यान गएको छ ।

प्राधिकरणका आयोजना प्रमुख इन्जिनियर रत्न बहादुर श्रेष्ठले भने उक्त गेट सञ्चालन गर्नमा समस्या नरहेको दाबी गरे । नयाँ गेट वर्षौदेखि उपयोग विहिन हुँदा यात्रुलाई समस्या हुनका साथै सुरक्षामा समेत चुनौती आउन सक्ने भन्दै सञ्चालनका लागि पहल गर्ने प्रतिकृया दिए ।

सो संरचना इन्जिनियर श्रेष्ठ आफैले पेटी ठेक्काको रुपमा लिएर निर्माण गरेको श्रोतको भनाई छ । जसका कारण प्राविधिक समस्या भएपनि मर्मत नगरी अलपत्र छोडिएको श्रोतको दाबी छ । २०७७ सालमा निर्माण गरिएको प्रवेशद्वार केहि महिनामै भत्किएपछि पुनः मर्मत गरिएको थियोे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार