सगरमाथा पुग्ने छोटो पदमार्ग खुल्यो

  हिमाल समाचार
3.4k Shares

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा जाने एक मात्रै छोटो पदमार्गका रूपमा रहेको ‘टासिलाप्चा पास’ पदमार्ग खुलेको छ । रोल्वालिङ उपत्यका हुँदै हिमाल काटेर टासिलाप्चा पास हुँदै सगरमाथा जाने मार्ग खुलेको हो ।

हिमाल पार गरेर जान निकै कठिन यो मार्ग खुलेसँगै रोल्वालिङ उपत्यका हुँदै सोलुखुम्बुमा अवस्थित सगरमाथासम्म पदयात्रा गर्न चाहनेका लागि विकल्प हुने भएको छ । उक्त पदमार्ग निमार्णसँगै खुम्बु हुँदै सगरमाथा बेसक्याम्प जाने विदेशी पदयात्री बढेका छन ।

५ हजार ७ सय मिटर उचाइको यो पदमार्ग निकै अघि खुले पनि व्यवस्थापन नहुँदा विदेशी पर्यटकलाई आवतजावत कठिन थियो । ‘द ग्रेट हिमालयन ट्रेल्स’ अन्तर्गत पर्ने पदमार्ग बनेपछि कोभिडपछि रोल्वालिङ उपत्यकामा विदेशी पर्यटकको चहलपहल पनि बढेको छ ।

मुलुकका मुख्य १० पदमार्गलाई समेटिएर बनाइएको ‘द ग्रेट हिमालयन ट्रेल्स’ अन्तर्गत उच्च हिमाली एभरेस्ट–रोल्वालिङ टासिलाप्चा पदमार्ग मुख्य मानिन्छ । हिमाली क्षेत्रको फरक–फरक भाषा, संस्कृति, रहनसहन, जीवनशैली हेर्न पनि टासिलाप्चा पदमार्गलाई गाइडहरू निकै आकर्षक मान्छन ।

यो वर्ष ३९ देशका १ हजार १ सय ३५ विदेशी पर्यटक रोल्वालिङ क्षेत्र घुम्न पुगेका छन । रोल्वालिङ उपत्यकाको च्छो–रोल्पा हिमताल र दूधकुण्ड हुँदै टासिलाप्चा पदमार्ग सोलुखुम्बुको थामेमा जोडिन्छ ।

उक्त पदमार्ग पर्यटन विभागले ४ करोड लागतमा निर्माण गरेको हो । यसैगरी पदमार्ग बनाउन नसकिने अप्ठ्यारा भीरमा ‘फारता’ अर्थात ढुंगा खोपेर फलामे भ¥याङ र नरम तारका डोरीहरू हालिएको टासिलाप्चा पदमार्ग निर्माण समितिका अध्यक्ष दावाछिरिङ शेर्पाले बताए ।

टासिलाप्चा पास नजिकैको ६ हजार १ सय मिटर फरछ्यामु पिक आरोहण विदेशी पर्यटकको आकर्षणमा पर्ने गरेको छ । उक्त पिक चढेपछि अर्को दिन टासिलाप्चा पास भएर खुम्बु पदमार्गी जाने गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार