सगरमाथा आरोही हिलारीको मृत्यु भएको १५ वर्ष पुरा

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु — सन् २००८ मा आजकै दिन (जनवरी ११) मा सगरमाथा आरोही सर एडमन्ड हिलारीको मृत्यु भएको थियो । उनको न्युजिल्यान्डको अकल्यान्ड सिटी अस्पतालमा निधन भएको हो ।

हिलारी र तेन्जिङ नोर्गे शेर्पा सन् १९५३ को मे २९ मा ११ बजेर ३० मिनेटमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । उनीहरू चुचुरोमा १५ मिनेट बसेर ओर्लन सुरु गरेका थिए । त्यसको एक वर्षअघि नोर्गे एक स्विस टोलीको सदस्यका रूपमा ८ हजार ५ सय ९५ मिटरसम्म पुगेर फर्किएका थिए ।

दक्षिणपूर्वी क्षेत्रबाट आरोहण गरेका उनीहरूलाई ८ हजार ८ सय ४८ (हाल ८८४८.८६) मिटर अग्लो चुचुरोमा पुग्न १६ दिन लागेको थियो । सन् १९१९ को जुलाई २० मा जन्मिएका हिलारी स्कुले जीवनदेखि नै दक्षिणी न्युजिल्यान्डका अल्प्स पर्वत शृंखलाहरूको आरोहण गरेका थिए ।

पछि सैनिक सेवामा प्रवेश गरेका उनले दोस्रो विश्वयुद्धपछि पुनः पर्वतारोहणलाई निरन्तरता दिएका थिए । प्रथम आरोहणयताका सात दशकमा ६ हजारभन्दा बढी पर्वतारोहीले सगरमाथा सफल आरोहण गरिसकेका छन ।

पहिलो आरोहणयता चुचुरोमा पुग्ने वा फर्कने क्रममा तीन सयभन्दा पर्वतारोहीले ज्यान गुमाइसकेका छन । दर्जनौं विश्व कीर्तिमानहरू कायम भएका छन् भने कयौं तोडिने क्रम जारी छ । हालसम्म नेपालका कामीरिता शेर्पाले सगरमाथाको सबैभन्दा बढी २६ पटक आरोहण गरिसकेका छन ।

१५ औं चुलीका नाममा परिचित हिमाललाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा ‘माउन्ट एभरेस्ट’ नामकरण गरिएको थियो । तर पछि सन् १९५६ (विस. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार