सोलुमा ट्राफिक नियम उल्लंघन गर्ने क्रम २० प्रतिशतले बढ्यो

राजस्व संकलन ३२ प्रतिशतले बृद्धि

  हिमाल समाचार
308 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा सवारी नियम उल्लंघन गर्नेको संख्या २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सवारी नियम उल्लंघन गर्नेको संख्या २०.३८ प्रतिशतले बृद्धि भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ हजार ८ सय ७१ वटा सवारी साधनलाई नियम उल्लंघन गरे बापत कारबाही गरिएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा २ हजार ३ सय ५० सवारीले नियम उल्लंघन गरेका छन् ।

सवारी नियम उल्लंघन गर्ने सवारीको संख्या बढेसँगै राजस्व संकलनमा पनि ३२.७८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १३ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको सोही अवधिमा २० लाख ५३ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज कृष्ण कुमार कटवालले जानकारी दिए ।

उनका अनुसार जिल्लामा सवारी संख्या बढेसँगै नियम उल्लंघन गर्नेको संख्या क्रमिक रुपले बढ्दै गएको हो । विना लाईसेन्स सवारी चलाएका, कागजात चुस्तदुरुस्त नभएका, क्षमता भन्दा बढी यात्रु तथा लोड बोकेका, मापसे गरि सवारी चलाएका लगायतका कारण कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार