सोलु दुधकोशी जलविद्युत आयोजनाले माघ महिना भित्रै विद्युत उत्पादन थाल्ने

  हिमाल समाचार  629 पटक हेरिएको

सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावट क्षमताको सोलु दुधकोशी जलविद्युत आयोजनाले माघ महिना भित्रमा विद्युत उत्पादन थाल्ने भएको छ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको टवाईन टेस्ट गरिएको छ ।

बाँध, सुरुङ, पेनस्टेक, विद्युतगृहको परीक्षण पश्चात पानीले टर्वाइन घुमाएर ‘वेट टेष्ट’ गरिएको हो । अब केही दिनमा लाईन परिक्षण गरिने छ । तिङलामा रहेको लाम्माने सब स्टेशनमा उपकरण परिक्षण पश्चात विद्युत उत्पादनको काम सूरु हुने साहास उर्जाका ईन्जिनियर जेपि यादवले जानकारी दिए । यो आयोजना निजी क्षेत्रले निर्माण सम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो । आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्ला स्थित लाम्माने
सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

आयोजनाबाट वार्षिक ५२० गिागावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ । आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाई, उपकरण ढुवानी समस्यालगायतले तालिका सरेको कम्पनीले जनाएको छ ।

यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार