चिसोका कारण माथिल्लो सगरमाथाका अधिकांश विद्यालय बन्द

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु – चिसोका कारण सोलुखुम्बुसहित माथिल्लो सगरमाथाका अधिकांश विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोमा बालबालिकालाई आउजाउ गर्न गाह्रो भएकाले हिमाली जिल्ला सोलखुम्बु, ओखलढुंगा र खोटाङका विभिन्न क्षेत्रका विद्यालय बन्द भएका हुन् ।

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाका ७० बढी सामुदायिक विद्यालयले पढाइ बन्द गरेका छन् । खुम्बुपासाङल्हामु गाउँपालिकाले पुस दोस्रो साताबाटै लागू हुने गरी ४० दिनसम्मका लागि विद्यालय बन्द गरिसकेकोे छ ।

ठण्डीले जनजीवन प्रभावित बनेको र विद्यालयसम्म जान सक्ने अवस्था नरहेकाले बन्द गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । उनका अनुसार कुल १७ विद्यालय रहेको पालिकामा वडा १ का ३ वटा बाहेक १४ वटा विद्यालय बन्द छन् ।

त्यस्तै सोलुदूधकुण्ड नगरपालिकाका ५८ वटा विद्यालय पनि बन्द छन । कुल ६२ सामुदायिक विद्यालय रहेको जिल्लाको एक मात्र नगरपालिकामा वडा नम्बर–११ तिङ्लाका ४ वटा बाहेक अन्य विद्यालय ४५ दिनका लागि बन्द गरिएको नगर शिक्षा शाखा प्रमुख सन्तोषकुमार राउतले बताए ।

उनका अनुसार अब माघको २५ पछि मात्रै नगरपालिकाका विद्यालय खुल्नेछन । खोटाङको उत्तरी क्षेत्रका विद्यालयहरू पनि जाडोका कारण बन्द गरिएका छन । ऐंसेलुखर्क गाउँपालिकाले ८ माविसहित २४ वटै विद्यालय बन्द गरेको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

केपिलासगढी गाउँपालिकाले पनि विद्यालयहरू बन्द गरेको छ । ८ माविसहित ३७ विद्यालयमा दस दिनका लागि बिदा दिइएको गाउँपालिका उपाध्यक्ष गुरुराज राईले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा हिउँदे बिदा गरिएको छ ।

परीक्षा सकेर २१ माविसहित ९३ विद्यालय १५ दिनका लागि बिदा गरिएको उपप्रमुख विसन राईले बताए । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पुस १७ देखि १५ दिनको बिदा गरिएको छ ।

खोटाङमा एक स्नातकोत्तर तहको पढाइ हुने दिक्तेल बहुमुखी क्याम्पसलगायत प्रायः सबै शैक्षिक संस्थाहरू बन्द छन् । जिल्लामा ४ सय ८६ वटा सामुदायिक, २८ संस्थागत विद्यालय र चार क्याम्पस छन् ।

ओखलढुंंगाको भने मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिका क्षेत्रका केही विद्यालय बन्द भएका छन् । चिसो कम भएसँगै विद्यालय खुल्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार