सोलुमा सवारी नियम उल्लंघन गर्नेमा ४३ प्रतिशत जिप

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा सवारी नियम उल्लंघन गर्ने सवारी साधनमा ४३ प्रतिशत भन्दा बढी जिप रहेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामा नियम उल्लंघन गरेर कारबाहीमा पर्ने कुल सवारी साधनको ४३.६६ प्रतिशत जिप रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कारबाहीमा परेका २ हजार ३ सय ५२ सवारी साधन मध्ये १ हजार २७ वटा अर्थात ४३.६६ प्रतिशत साना सवारी साधन जिप तथा कार रहेका छन् ।

ति सवारी साधनहरु अधिकांशले क्षमता भन्दा बढी सवारी बोक्ने, सवारी चलाउँदा कागजात चुस्तदुरुस्त नराख्ने, सिटबेल्टको प्रयोग नगर्ने, कतिपयले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने लगायतका कारण कारबाहीमा परेका हुन् ।

जिल्लामा अहिले व्यवसायिक रुपमा यात्रु ओसारपोसार गर्नमा जिपहरु नै बढी प्रयोग भईरहेकाले पनि ति सवारी साधनको कारबाही संख्या बढेको ट्राफिक प्रहरी इन्चार्ज कृष्ण कुमार कटवालले बताए ।

उनका अनुसार सोही अवधिमा ९०२ वटा मोटरसाईकल, १३६ वटा ट्रक, १२८ वटा ट्याक्टर, ८४ वटा टेम्पो, ५६ वटा टिप्पर र १२ वटा बस कारबाहीमा परेका छन् । कतिपय एउटै सवारी साधनहरु पटक/पटक कारबाहीमा परेका छन् ।

सवारी कारबाहीबाट कार्यालयले ६ महिनामै २० लाख ६३ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।-फाइल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार