सोलुखुम्बु : गुदेल मावि हिरक महोत्सवको तयारी पुरा

  हिमाल समाचार
266 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल स्थित गुदेल माविको हिरक महोत्सवको तयारी पुरा भएको छ । भोली (विहिबार)बाट सुरु हुने जिल्लाव्यापी प्रथम विद्यालय हिरक महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

गुदेल माविको आयोजनामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा माघ १२ गते देखि १६ गते सम्म महोत्सव हुँदै छ । विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक्षमा ‘सर्वसुलभ गुणस्तरीय शिक्षा, गुदेल माविको प्रतिवद्धता’ भन्ने नाराका साथ ऐतिहासिक महोत्वको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

जसका लागि मञ्च व्यवस्थापन, खेलाडीहरुको नाम दर्ता लगायतका तयारी लगभग सकिएको विद्यालयका प्रधानाध्याक लबकुमार राईले बताए ।

कार्यक्रममा जिल्लाव्यापी मावि स्तरीय महिला पुरुष भलिबल, जिल्लाव्यापी शिक्षक डबल ब्याडमिन्टन, क्षेत्र स्तरीय हाजिरी जवाफ, कक्षा १ देखि ८ सम्मका लागि युगल नृत्य, खुल्ला एकल नृत्य तथा ट्रयाक गायन लगायतका प्रतियोगिताहरु आयोजना गरिएको छ । साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा बेजोड सांगितिक साँझ, विद्यालयलाई योगदान दिनेहरुलाई सम्मान, विद्यालय बृतचित्र निर्माण लगायतका कार्यक्रमहरु रहेको जनाइएको छ ।

कलाकारहरुमा वरिष्ठ गायक शम्भु राई, चर्चित गायिका सुनिता थेगिम, चर्चित गायिका लिला राई, संगीत प्रभाकर गायक राजेन्द्र केरुङ, गायक अजय अलंकार (कुलुङ) को उपस्थिति हुने आयोजकले जनाएको छ । त्यस्तै मोडल मनिता राई (कुलुङ), नृत्याङ्गना तथा मोडल बिनिता राई लगायत कलाकारहरुको उपस्थिति रहने संवाददाता झलक राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार