कलाकर्मीको रोजाईमा पर्दै सोलुखुम्बुको पत्ताले 

  हिमाल समाचार
1.6k Shares

सोलुखुम्बु — चिसो, दुर्गम अनि विकटको पहिचान बनाएको सोलुखुम्बुको परिभाषा पछिल्लो समय बदलिँदै गएको छ । हिमाली जिल्ला अहिले विदेशी पर्यटकका लागि मात्र नभई नेपाली कलाकर्मीको रोजाइमा पनि पर्न थालेको छ ।

यसअघि खुम्बु क्षेत्रमा मात्रै फिल्महरू छायांकन हुँदै आएकामा हाल भने जिल्लाको प्रमुख प्रवेशद्वार पत्ताले नेपाली कलाकर्मीका लागि आकर्षक छायांकन स्थल बन्दै गएको छ ।

खुम्बु क्षेत्रमा चर्चित हलिउड फिल्म ‘एभरेस्ट’ र बलिउड फिल्म ‘उचाइ’ को छायांकनपछि तल्लो क्षेत्रको हिमाली बस्ती पत्तालेमा पनि नेपाली फिल्म तथा टेलिशृंखलाको सुटिङ हुन थालेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि अन्य हिमशृंखलाको दृश्य नजिकबाट सहजै कैद गर्न सकिने भएकाले पनि चलचित्र निर्माताको ध्यान पत्तालेले तानेको हो । समुद्री सतहबाट ३ हजार मिटरको उचाइमा रहेको पत्तालेबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से र गौरीशंकर हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।

पछिल्लो समय नेपाली चलचित्र ‘स्वर्ग मेरो गाउँ’, ‘प्रेम गञ्ज’ तथा हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ को १००औं शृंखलाको छायांकन गरिएको छ । राष्ट्रियस्तरका कलाकारको आवागमनले यस क्षेत्रका बालबालिकामा पनि सकारात्मक प्रभाव परिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार