सोलुखुम्बुमा जलचर प्राणी संरक्षणमा पुगेन ध्यान

  हिमाल समाचार
252 Shares

सोलुखुम्बुको सिम तथा खोला नदी क्षेत्रमा पाईने जलचर प्राणीको संरक्षणमा कसैको ध्यान नपुगेको पाईएको छ । जिल्लाको विभिन्न स्थानमा रहेका सिमसार क्षेत्रमा पाईने जलचर प्राणी संरक्षणमा स्थानिय सरकार र जिल्लाका कुनै पनि निकायको ध्यान नपुगेको हो ।

जिल्लाका अधिकांश खोला तथा नदीमा हाईड्रोपावर निर्माणाधिन छन् जसले गर्दा खोलामा पाईने माछा केमिकलका कारणले मर्ने लोप भईसकेको स्थानियहरु बताउँछन् । सोलुखोलामा अधिकांश क्षेत्रमा जलविद्युत आयोजनाले पानी उपयोग गर्दा खोलामा पानी सुकेकाले माछाको अस्तित्व नै संकटमा परेको स्थानिय रवीन कार्कीले बताए । खोलामा पानी नहुँदा भ्यागुता, पाहा, माछा लगायतका प्राणी संकटमा परेका हुन् ।

जलश्रोत तथा सिँचाई विकास सबडिभिजन कार्यालयका प्रमुख इन्जिनियर रंजय बहादुर सिंहले खोलामा जलचर प्राणीका लागि १० प्रतिशत पानी छाड्नुपर्ने प्रावधान रहेको बताउँछन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर १ टाक्सिन्दुमा दुधकुण्ड पोखरीमा राज हाँस तथा हिमाली चखेवा पाईने गरेको छ । तर उक्त हास संरक्षणमा कसैले चासो नदिएको स्थानिय जानकार सुरेश खड्का बताउँछन् । उनले भने, ‘दुधकुण्ड पोखरीमा ८ देखि १० वटा राजहाँस देख्न सकिन्छ । तर यसको संरक्षणमा कसैले ध्यान दिईएको पाईदैन । ’

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको गोक्यो तालमा पनि चितवनबाट गर्मि सिजनमा चखेवा आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए । जिल्लामा कुन क्षेत्रमा कस्ता खालका जलचर प्राणी बस्छन् भन्ने विषयमा अहिलेसम्म अध्ययन भएको छैन । जसले गर्दा संरक्षणमा पनि चुनौति देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार