थुलुङ दुधकोशीमा रनिङ शिल्ड प्रतियोगिता सुरु

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा चौथोँ अध्यक्ष रनिङ शिल्ड तथा १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानिय तह¸ जिल्ला¸ प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगिता आज सोमबारबाट सुरु भएको हो ।

प्रतियोगिताको प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारी र प्रदेश सांसद गोम्बु शेर्पाले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गरे ।

चौथोँ अध्यक्ष रनिङ शिल्डमा महिला तथा पुरुष भलिवल प्रतियोगिता र स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, सरोकारवालालगायतको उपस्थिती रहेको थियो ।

अध्यक्ष रनिङ शिल्डमा प्रथम, द्वितिय र तृतिय हुने पुरुष तथा महिला टिमलाई समान क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीलाई आकर्षक ट्रफीको साथमा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महिला सिङ्गल तथा पुरुष डबल व्याटमिन्टन प्रतियोगितामा महिलातर्फ प्रथम¸ द्वितिय र तृतिय हुने खेलाडीहरुलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै पुरुषतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमशः नगद १० हजार, ८ हजार र ६ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।महिला तथा पुरुष टेबल टेनिसतर्फ प्रथम द्वितिय र तृतिय स्थान ओगट्न सफल प्रतियोगिहरुलाई क्रमशः नगद ४ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य साँस्कृतिक साँझको समेत आयोजना गरिएको थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार