स्ववियु निर्वाचन : सोलुखुम्बु बहुमुखी क्याम्पसमा मतदान सुरु

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु – सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । माथिल्लो सगरमाथाकै जेठो शैक्षिक संस्था उक्त क्याम्पसमा आज आईतबार विहान ८ः५५ बाट मतदान सुरु भएको हो ।

यहाँ नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल तथा अखिल र समाजवादी विद्यार्थी संगठनको संयुक्त प्यानल चुनावी मैदानमा छन् । नेविसंघले सभापति र कोषाध्यक्षमा उम्मेदवारी दिएको छ भने अखिल क्रान्तिकारीले उपाध्यक्ष र सचिवमा उम्मेदवारी दिएको छ ।

नेविसंघ र अखिल क्रान्तिकारीको प्यानलबाट अध्यक्षमा सरीता राई, सचिवमा गणेश थापा र कोषाध्यक्षमा देविकला राई उम्मेद्वार छन् भने अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनको प्यानलबाट अध्यक्षमा नरेन्द्र कुलुङ, सचिवमा पासाङ काजी तामाङ र कोषाध्यक्षमा सजिना प्रधान उम्मेद्वार रहेको निर्वाचन समितिले जनाएको छ । यस क्याम्पसमा ४२५ जना मतदाता रहेका छन् । मतदान स्थलको सुरक्षा व्यवस्थालाई अत्यन्त मजबुत पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक(डिएसपी) दिप श्रेष्ठले बताए ।

जिल्लाको नेचासल्यान २ स्थित बी.पी. संस्कृत विद्यापिठ सल्यानमा दिउसो १२ बजेबाट मतदान सुरु गरे र ३ बजे सक्ने निर्णय गरेको छ । जहाँ ४९ जना मतदाता रहेका छन् । यद्यपी यस क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका मोहन बस्नेत र सदस्यमा पवित्रा बर्देवा तथा अनेरास्वव्युबाट गंगा निरौला सदस्यमा सर्वसम्मत भईसकेका छन् ।

जिल्लामा रहेका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार र नेपाल संस्कृत विश्वविद्यालयको एक आंगिक गरी पाँचवटा क्याम्पसमध्ये तीनवटामा सर्वसम्मत रुपमा स्ववियु नेतृत्व चयन भएको छ । सोताङ पब्लिक क्याम्पसमा तीन विद्यार्थी संगठनहरु नेविसंघ, अखिल र अखिल क्रान्तिकारीले आपसी सहमति गरेर नेतृत्व चयन गरेका छन् ।

जसअनुसार नेविसंघका प्रमोद राई सभापति, अखिलका मिलन नाछिरिङ उपसभापति र अखिल क्रान्तिकारीका अर्जुन राई सचिवमा सर्वसम्मत चयन भएका छन् । न्यून विद्यार्थी संख्या रहेको दुधकोशी बहुमुखी क्याम्पस नेचासल्यानमा नेविसंघका लाक्पा शेर्पा सभापतिमा सर्वसम्मत भएको क्याम्पस प्रमुख रामनारायण झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार