खुम्बु आइसफलको बाटो बनाउने कार्य सकियो

  हिमाल समाचार
560 Shares

सोलुखुम्बु – सगरमाथा आरोहणका लागि खुम्बु आइसफलमा बाटो बनाउने काम सकिएको छ । दोस्रो शिविरका लागि बाटो बनाउने जिम्मेवारी पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाट खटिएका आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने कामदारहरूले खुम्बु आइसफलमा भ¥याङ राख्ने, डोरी टाँग्ने लगायतका काम गरी बाटो बनाएका हुन् ।

अहिले दोस्रो शिविरसम्म पुग्नका लागि बाटो बनाउने काम अन्तिम चरणमा पुगेको एसपीसीसीले जनाएको छ । यो बाटोबाट सगरमाथासहित ल्होत्से र नुप्त्से हिमालको पनि आरोहण गरिन्छ । दोस्रो शिविरसम्मको बाटो तयार भइसकेपछि त्योभन्दामाथिको बाटो भने आरोहण गराउने कम्पनीहरूले निर्माण गर्दै आएका छन् ।

यसैबीच वसन्तयाममा नेपालका हिमाल चढ्नका लागि अनुमति लिने क्रम सुरु भएको छ । वैशाख जेठमा हुने पर्वतारोहणका लागि आरोहीहरूले अनुमति लिने क्रम सुरु भएको पर्यटन विभागले जनाएको छ ।आरोहीका लागि अनुमति दिने तथा आरोहण प्रमाणीकरण गर्ने काम पर्यटन विभागले गर्दै आएको छ ।

विभागको तथ्याङ्कअनुसार अहिलेसम्म पाँच वटा हिमाल आरोहणका लागि ५० जनाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३३ जना पुरुष र १७ जना महिला रहेका छन् ।

सबैभन्दा धेरै अन्नपूर्णका लागि ३४ जनाले अनुमति लिएका छन् । यस्तै सुर्मा सरोभरका लागि दुई जना, पङ्ग्री गोल्डुम्बाका लागि छ, मनास्लुका लागि दुई र थोरङ पिकका लागि पाँच जनाले अनुमति लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार