खोलाखर्कबासीले जनश्रमदानबाटै बनाए सोलुखोला माथी साँघु

  हिमाल समाचार
693 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ स्थित खोलाखर्कमा स्थानीयको जनश्रमदानबाट ५५ फिट लामो काठे साँघु निर्माण भएको छ । खोलाखर्कका ७ घरको जनश्रमदानबाट गार्माको फेदीमा सोलुखोला माथी ५५ फिट लामो काठे साँघु निर्माण भएको हो ।

विगतमा निर्माण गरिएको काठेसाँगु जिर्ण भएपछि स्थानीय भुपध्वज खड्काको अगुवाईमा खोलाखर्कवासी साँघु निर्माणमा जुटेको स्थानीयले बताएका छन् । एक हप्तामा सम्पन्न भएको उक्त साँघु निर्माणका लागि वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत २० हजार सहयोग गरेको र बाँकी रकम स्थानीय जनश्रमदानबाटै निर्माण भएको भुपध्वज खड्काको भनाई छ ।

उक्त बाटो स्थानीयले सदरमुकाम सल्लेरी, वडा कार्यालय गार्मासहितका स्थानमा आवतजावत गर्ने मुख्य मार्गमा पर्दछ । सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ विनियोजन भएपनि काम अघि बढ्न सकेको छैन् । नागरिकको समस्यालाई मध्यनजर गर्दै वडा नम्बर ७ को कार्यालयले काठेसाँघु निर्माणका लागि चालु आर्थिक वर्षमा १ लाख रुपैयाँ विनियोजन गरेको भएपनि लम्बाई लामो हँदा प्राविधिक स्टिमेट अनुसार पास हुन नसकेको वडा कार्यालयले जनाएको छ ।

हाललाई स्थानीयले अस्थायी साँघु निर्माण गरेपनि स्थायी पुल निर्माणका लागि वडाले पहल गरिरहेको जनाएको छ । यता प्रदेश सरकारको पुल प्रविन्सियल टेक्निकल असिस्टेन्ट प्रोभाईडरले भने ३ महिना भित्रसर्वे गरेर डिपिआर तयार गरेर आगामी आर्थिक वर्षबाट काम थालनी गर्ने बताएको छ ।

कम्पनीका प्राविधिक पदम जिरेलका अनुसार क्रमागत बजेट भएकाले चालु आर्थिक वर्षमा डिपिआर तयार गरेर अर्को वर्षबाट काम अघि बढाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार