सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा स्वच्छ दुग्धजन्य वस्तु प्रशोधन तथा उद्यमशीलता विकास तालिम सुरु भएको छ । जिल्लाको महाकुलुङ र लिखुपिकेका चौरी पालक कृषकहरुका लागि याक तथा चौरी व्यवसायी संघ नेपालले तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले गरेका याक तथा चौरी व्यवसायी संघ नेपालका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । तालिममा १५ जना याक तथा चौरी पालक कृषकहरुको सहभागिता रहेको छ ।
उदघाटन कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र शाखा कार्यालय सल्लेरीका प्रमुख भीमलाल तामाङ, सोलु दुधकुण्ड नगरपालिका ४ का वडा अध्यक्ष युबास तामाङ लगायतको उपस्थिति रहेको थियो ।
सहज च्यालेन्ज फन्डको आर्थिक सहयोगमा सञ्चालित तालिममा इनोभेटिभ भिजन प्रालिले सहजिकरण गरिरहेको अध्यक्ष शेर्पाले बताए । हिमाली क्षेत्रको याक तथा चौरीको दुग्धजन्य वस्तुको बजारीकरणको आधार तय गर्ने हेतुले आयोजित तालिमको दोस्रो चरण आगामी मंगलबारबाट सोलु दुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाका कृषकहरुलाई लक्षित गरी सुरु गर्ने आयोजक संस्थाले जनाएको छ ।