सोलुखुम्बु — देशभर महामारीको रुपमा फैलिएको पशुरोग लम्पी स्किन नियन्त्रणका लागि सोलुदुधकुण्ड नगरपालिकाले अभियानलाई तिब्र बनाएको छ । नगर क्षेत्रको गाईभैसीलाई महामारीबाट जोगाउन नगरपालिकाले गत बिहिबारबाट खोप अभियानलाई तिब्र बनाएको हो ।
नगरपालिकाको वडा नम्बर ७ गार्माबाट सुरु गरिएको उक्त अभियान अन्तरगत हालसम्म वडा ४, ७, ८, १०, ११ मा गरी ७ सय वटा गाईगोरु तथा राँगाभैसीलाई खोप लगाइएको नगर पशुसेवा शाखा प्रमुख निरुता चापागाँईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा ३ हजार डोज लम्पी भ्याक्स नामक खोप खरिद गरी सुरु गरिएको अभियानमा हाल सम्म नगरपालिकाका विभिन्न ५ वटा वडामा अभियान तिब्र पारिएको छ । तिङला, केरुङ, फाप्लु र टाप्टिङमा अभियान जारी रहेको उहाँको भनाई छ । उक्त खोप एउटा पशुलाई २ मिलिलिटरका दरले खोप लगाइने छ ।
हाल सम्म नगरपालिकामा करिव ५ सय पशु यो रोगबाट संक्रमित भइसकेका छन । संक्रमित पशुहरुलाई यो खोप लगाउन नमिल्ने भएकाले संक्रमणको जोखिममा रहेका अन्य पशुहरुलाई खोेप लगाइने जनाइएको छ ।