प्राधिकरणले तोक्यो लुक्ला र फाप्लुसहितका विमानस्थलमा उडान समय

  सुबास दर्नाल
8.9k Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको लुक्ला, फाप्लुसहित दुर्गम क्षेत्रका विमानस्थलको हवाई उडानमा कडाइ गरेको छ । मनसुनको प्रभावलाई ध्यान दिदै उडान समयमा कडाइ गरिएको प्राधिकरणले जनाएको छ ।

मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको तथा यस्तो समयमा दुर्घटनाको जोखिम बढी हुने भएकाले अपरेशन आवरमा मात्रै उडान भर्न नयाँ सर्कुलर जारी गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख हिराजन काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनमा मौसमका कारण उडानमा चुनौती हुने भएकाले अपरेशन आवर बाहेकको समयमा उडान गर्न नपाउने व्यवस्था लागु गरेको हो ।

सामान्यतय लुक्लामा विहानदेखि बेलुका सम्म नै अप्रेसन आवर मानिन्छ । तर फाप्लुका लागि भने नोबेम्बर १६ देखि फ्रेब्रवरी १८ सम्मलाई विहान ६ बजेदेखि मध्यन्न १२ः३० बजे सम्म र त्यस भन्दा बाहेकको महिनामा विहान ६ः३० देखि मध्यन्न १२ः३० बजेको समयलाई अप्रेसन आवरको रुपमा तोकिएको नेपाल नागरिक उड्ययन प्र्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले जानकारी दिनुभयो ।

प्राधिकरणले ३ महिनाका लागि कम सिट क्षमताका जहाज र हेलिकोप्टर उडान हुने विमानस्थलमा निर्धारित समयभन्दा अघिपछि उडान गर्न रोकेको जनाइएको छ ।

दुर्गममा सोलुखुम्बुको लुक्ला, फाप्लु, ताप्लेजुङ, मनाङ, जोमसोम लगायत विमानस्थल पर्छन् । निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुर र प्राधिकरणका सम्बद्ध विभागका अधिकारीसहितको बैठकले नागरिक उड्डयन नियमावली २०५८ को परिच्छेद १० को नियम ६५ मा भएको व्यवस्थालाई कडाइका साथ लागू गर्न सम्बद्ध एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

यस्तै हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन आवरभित्र रही सम्बद्ध वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार