सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिकाले एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय र विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । २०७९ को एसईईमा सामुदायिक विद्यालयहरू मध्येबाट जिल्लामै उत्कृष्ट नतिजा हात पार्न सफल गार्मा माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका ७ गार्मालाई नगद ५ लाख रूपैयाँ र उत्कृष्ट विद्यार्थी बबिता कार्कीलाई नगद ५० हजार रुपैयाँका साथमा नगरपालिकाले प्रमाणपत्र प्रदान गरेको हो ।
उक्त पुरस्कार सोमबार विद्यालयमा एक कार्यक्रमका बिच नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले विद्यालय र विद्यार्थीलाई प्रदान गर्नुभयो । सोही अवसरमा शैक्षिक सुधारका लागि मुख्य सरोकारवालासंग छलफल समेत गरिएको छ । छलफलका क्रममा नगरप्रमुख शेर्पाले शिक्षाको स्तर बृद्धि गर्न शिक्षकको मुख्य भूमिका हुने भन्दै प्रधानाध्यापकले शैक्षिक वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रविधिको प्रयोग गरेर शिक्षकले आफ्नो योग्यता र क्षमता अनुसार शिक्षण गर्नसके शैक्षिक स्तर बृद्धि गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो। शिक्षक आफ्नो पेसाप्रति इमान्दार भएर लागेमा परिवर्तन सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख गान्धी माया तामाङले सबैले आफ्नो कर्तव्य पूरा गर्नसके शिक्षाको गुणस्तर बढाउन सकिने बताउनुभयो । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले नगरपालिकाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । यस कार्यक्रमले नगरपालिकाको शिक्षाको स्तर उठाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।
सोलुदुधकुण्ड नगरपालिकाका सामाजिक विकास समितिका संयोजक, वडा नम्बर ७ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरू, नगर शिक्षा समितिका सदस्यहरु, ६२ विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।