सोलुखुम्बु – सोलुखुम्बु सदरमुकाम सल्लेरी बजार क्षेत्रको किराना पसलहरुबाट २२ हजार रुपैयाँ भन्दा बढीको अखाद्य वस्तु जफत गरिएको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत जिल्ला स्तरीय बजार अनुगमन समितिले आज मंगलबार गरेको बजार अनुगमनकोे क्रममा सल्लेरीका १७ वटा पसलहरुबाट २२ हजार ३ सय ५४ रुपैयाँको म्याद गुज्रिएका वस्तुहरु जफत गरी नष्ट गरिएको हो ।
सल्लेरी क्षेत्रको किराना पसल तथा गोदाम र होटलहरुमा गरिएको अनुगमनमा म्याद नाघेका चाउचाउ, विस्कुट, चकलेट, हर्लेक्स, मह, जुस, चिप्स, कुरमुरे लगायतका सामाग्रीहरु जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख एवं उद्योग अधिकृत संगिता थुलुङ राईले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालको संयोजकत्वमा भएको उक्त अनुगमनको क्रममा होटल, पसलहरुको दर्ता, नविकरण लगायतको विषयहरु पनि हेरिएको उद्योग अधिकृत राईले बताउनुभयो । उक्त सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठसहितको उपस्थितीमा नष्ट गरिएको हो ।
चामलमा हुन सक्ने मुल्य बृद्धि र गैरकानुनी कारोकार रोक्न गरिएको उक्त बजार अनुगमनमा घरेलु कार्यालय, उद्योग बाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।