सोलुखुम्बुको नाङ्गपाला नाकामा रहेको तिब्बतसँगको सिमास्तब्भ ढल्यो

  सुबास दर्नाल
4.8k Shares

सोलुखुम्बु – तिब्बतसँगको नाका सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ स्थित नाङ्गपालामा रहेको नेपालतर्फको सिमा स्तब्भ ढलेको छ । नेपाल र तिब्बत विचको उत्तरतर्फको नाङ्गपाला नाकामा रहेको नेपाल तर्फको एक मात्र सिमा स्तम्भ तिब्बततर्फ ढलेको हो । उक्त नाकामा रहेको आर.जी.५९७०९८ मा ६२ नम्बरको एक मात्र सिमेन्टेड पिलर ढलेर नम्बर समेत छोपिएको याक आनुवंशिक श्रोत केन्द्र स्याङ्बोचेका निमित्त प्रमुख रामललन यादव (ललन)ले जानकारी दिनुभयो ।

यादवसहितको टोली याक तथा नाक खरिदका लागि चीन जाने क्रममा २०७१ जेठ २ गते नै उक्त स्तम्भ ढलेको पाइएको उहाँको भनाई छ । समुन्द्री सतहबाट ५ हजार ८ सय ८७ मिटरको उचाईमा रहेको सो नाकाको स्तम्भ ढलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गर्नुभयो ।

हिमाल हुँदै बग्ने हिम नदिका कारण उक्त स्तम्भ ढलेको हुन सक्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । वि.स २०६७ सालसम्म चीन र नेपाल विच मानिसहरुको आवतजावत हुने गरेको त्यस पश्चात चीनले बन्द गरेको हो । उक्त स्तम्भ नाम्चेबाट ८० किलोमिटरको दुरीमा रहेको छ भने सिमानाकामा नेपालको सुरक्षाको कुनै उपस्थिती छैन् ।

नेपालतर्फ करिब ६२ किलोमिटरको दुरीमा थामे प्रहरी चौकी रहेको छ । उक्त सिमा क्षेत्रमा भौगोलिक कठिनाईका कारण कुनै पनि नेपाली नपुग्ने गरेको याक आनुवंशिक श्रोत केन्द्र स्याङ्बोचेका निमित्त प्रमुख रामललन यादव (ललन)ले बताउनुभयो । २०७१ सालमा याक आनुवंशिक श्रोत केन्द्रले ३ महिनाको प्रयासपछि प्रकृया पुरा गरी २४ जनाको टोली नाक तथा याक खरिदका लागि नाङ्गपाला नाका हुँदै चीन पुगेका थिए ।

त्यस यता सो क्षेत्रमा कुनै पनि नेपालीको उपस्थिती नरहेको बताइएको छ । सो पिलरबाट करिब २ किलोमिटर अगाडी चीनको मोटर बाटो छ भने करिब १५ किलोमिटर अगाडी चीनको सुरक्षा पोष्ट तथा २० किलोमिटर अगाडी चीनको थिङ्ग्रे बजार रहेको छ । नेपालतर्फ खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ थामे भन्ज्याङलुङ्गदे भन्दा माथि मानव बस्ती नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो ।

सिमा सुरक्षालाई मध्यनजर गर्दै नाम्चेमा प्रहरी निरीक्षकको कमाण्डमा शसस्त्र प्रहरीको पोष्ट खडा गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । सिमा सुरक्षाको विषयमा समय समयमा चीनको काउन्टी मामिला प्रमुखसँग संवाद हुने गरेको छ भने केहि दिनमा पुनः दुई देशविचको सुरक्षा टिमको बैठक बस्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार