सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ बोल्दो स्थित सोलुखोलामा नदीजन्य पदार्थ अवैध उत्खनन भईरहेको पाइएको छ । नदीजन्य पदार्थ उत्खनन ऐन विपरीत वर्षातको समयमा अवैध उत्खनन भईरहेको तथ्य हिमाल एफ.एम.ले फेला पारेको हो । सो विषयमा हिमाल एफ.एम.कर्मी स्थलगत रिर्पाेटिङमा पुगेपछि उत्खननमा प्रयोग भईरहेको बा. प्रदेश.०१ ००३ क ९१९३ नम्बरको डोजर चालक कार्यक्षेत्रमै मेसिन छोडेर फरार भएका छन् ।
उक्त अवैध उत्खनन कार्य सोलुदुकुण्ड नगरपालिका ११ तिङ्ला घई भई हाल सल्लेरी नयाँ बजारमा बस्दै आएका दिल कुमार बस्नेतले गरेको खुल्न आएको छ । बस्नेतले सोलुदुधकुण्ड नगरपालिका ४ बोल्दोका बुलु तामाङसँग वार्षिक रुपमा भाडामा लिएको जमिनाको नाममा खोलामा अवैध उत्खनन गरेको पाइएको हो ।
उत्खननमा प्रयोग भएको डोजर प्रहरी र सोलुदुधकुण्ड नगरपालिका ४ को कार्यालयले नियन्त्रणमा लिएको छ भने चालक अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । असार, साउन र भदौमा बाढी पहिरो जान सक्ने भएकाले नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नोपाल सरकारको नदीजन्य पदार्थ उत्खन्न ऐनमा उल्लेख छ तर व्यवसायी बस्नेतले भने ऐनलाई नै ठाँडो चुनौती दिदै खोलाबाट डोजर लगाएर धमाधम उत्खनन गरिरहेका छन् ।
सोलुदुधकुण्ड नगरपालिकाले समेत सुचना नै जारी गरेर वर्षातको समयमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । तर बस्नेतले भने नियमको उल्लंघन गर्दै गैरकानुनी काम गरेको पाइएको सोलुदुधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष युवास तामाङले बताउनुभयो । नियमको खिल्ली उडाउँदै खोला भित्रैबाट उत्खनन गरेकाले कारबाही प्रकृया अघि बढ्ने वडाध्यक्ष तामाङले बताउँनुभयो ।
सो विषयमा आईतबार थप छलफल गरी कानुनी कारबाही प्रकृया अघि बढाइने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउँनुभयो । नदिजन्य पदार्थ उत्खनन ऐन विपरितका कार्य भएकाले कारबाही हुने उहाँको भनाई छ ।