सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ स्थित जुनबेशी माविमा २ करोड बढीको लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । गैरसरकारी संस्थाको २ करोड २४ लाख ४२ हजार ५ सय रुपैयाँको लागत निर्माण हुन लागेको ३ तलाको १२ कोठे भवनको आज शुक्रबार नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले शिलान्यास गर्नुभयो । चाँगुनारायण फाउण्डेशन र सोशल डेभलपमेन्ट नेपाल नेदरल्याड्सको संयुक्त आर्थिक सहयोग तथा नगरपालिकाको समन्वयमा निर्माण हुन लागेको उक्त भवनको गत जेठ १६ गते सम्झौता भई आगामी जेठ १६ भित्र निर्माण सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ ।
जसका लागि आरआर÷अमरज्योति जेभिले भ्याट बाहेक २ करोड २४ लाख ४२ हजार ५ सय रुपैयाँमा निर्माण जिम्मा लिएको छ । विद्यालय भवन शिलान्यास गर्दै नगरप्मुख नाम्गेल जाङबु शेर्पाले विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै प्रविधिमैत्री शिक्षा पद्धतीलाई नगरले जोड दिएको बताउनुभयो ।
उहाँले निर्माण कम्पनीले विद्यालय भवनको समयमै निर्माण सम्पन्न गरी शैक्षिक कृयाकलापमा सहजता दिनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख शेर्पाले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकको महत्वपुर्ण भमिका हुने बताउदै शिक्षकहरुले सुविधा सम्पन्न भवनमा मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने भ्रममा नपर्न अनुरोध गर्नुभयो ।
उहाँले प्रविधिमैत्री शिक्षाको आवश्यक्ता औल्याउदै शिक्षकहरुलाई समयअनुसार आफुलाई परिमार्जित गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष वडा नम्बर २ जुनबेसीका वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ङवाङ ठिले शेर्पाले विद्यालय भित्रका आन्तरीक समस्या समाधान गरी अब्बल विद्यालय बनाउन लागि पर्ने दृढता व्यक्त गर्नुभयोे । उहाँले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, विद्यार्थी, अविभावक सबैको उत्तिकै सकृयता आवश्यक रहेको भन्दै सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
यस्तै विद्यालयका प्रधानाध्यापक भरत कुमार राईले विद्यालयको चौतर्फी विकासका लागि सम्बन्धित निकायको सहयोग आवश्यक रहेको र विद्यालय भवनका लागि नगरपालिकाले गरेको सहयोग र समन्वयको प्रसंशा समेत गर्नुभएको छ ।
जुनबेसी मावि हाल प्रावि र मावि छुट्टाछुट्टै स्थानबाट सञ्चालन हुदै आएकोमा भवन निर्माणगरेपछि प्रावि र मावि एकै भवनबाट सञ्चालन हुने प्रअ राईले बताउनुभएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, पुर्व प्रअ तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी, विद्यार्थी, अभिभावक लगायत गरी १०० भन्दा बढीको उपस्थीति रहेको थियो ।