सोलुखुम्बु—नेपाली कांग्रेस सोलुखुम्बुले संगठन सुदृढीकरणका लागि ‘आन्तरिक विशेष अभियान’ सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार आज शनिबारबाट विशेष आन्तरिक अभियान सुरु गरेको हो । अभियानको केन्द्रीय प्रतिनिधि एवं पार्टी केन्द्रीय सदस्य शुशीला ढकाल आचार्यले पार्टी कार्यालय सल्लेरी बसन्त बजारमा एक कार्यक्रमका विच उदघाटन गर्नुभयो । केन्द्रीय प्रतिनिधि आचार्यले अभियानले पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाएर त्यसको सुधार गर्ने र पार्टीलाई गतिशील बनाउने बताउनुभयो ।
कांग्रेसलाई एक्काइसौं शताब्दीको गतिशील, चलायमान, सवल तथा सक्षम बनाउन अभियानले सहयोग पुग्ने उहाँको भनाई छ । कुनै गुट, उपगुटका कुरा नगर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । क्षेत्रीय, प्रदेश, पालिका र वडासम्म पार्टीलाई चलायमान बनाउन यो अभियान सफल हुने उहाँको विश्वास छ ।
नेपाली कांग्रेस सोलुखुम्बुका पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पाले पदका लागि केन्द्रमा बसेर नेताहहरुको चाकडी गर्ने तर जिल्लाको संगठन विस्तारमा नखट्ने कार्यकर्ताको पार्टीले मुल्यांकन गर्ने बताउनुभएको छ । संघ र प्रदेश निर्वाचनमा टिकट वितरण गर्दा केन्द्रले जिल्लासँगको समन्वयमा चुक्दा पार्टीले अपेक्षित नतिजा हात पार्न नसकेको जानकारी गराउनुभयो ।
उहाँले जनताको भावना र चहाना विपरित पार्टी चल्न नसक्ने भएकाले संगठन सुदृढीकरणका लागि ‘आन्तरिक विशेष अभियान’ लिएर निरन्तर रुपमा अब गाउँ/गाउँ र टोल टोलमा पुग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । जसका लागि वडा, पालिका, प्रदेश, क्षेत्रमा बैठक गर्ने, पार्टीका भ्रातृ संस्था, शुभेच्छुक संस्थालाई क्रियाशील बनाउने उहाँले बताउनुभयो ।
यो अभिभयान निश्चित समयका लागि सुरु भएको भन्ने भ्रमलाई फालेर आजैदेखि निरन्तर रुपमा सकृय हुन सभापति शेर्पाले निर्देशन दिनुभयो । कार्यक्रममा उपस्थित नेता कार्यकर्ताले पार्टीको केन्द्रदेखि नै गुटउपगुट मौलाउँदा जिल्लामा पनि त्यसको असर देखा परेको बताएका छन् ।
निर्वाचनमा अन्तरघात र मेइमानी गर्ने विरुद्ध पार्टी नेतृत्व निर्मम ढंगले अघि बढ्नुपर्ने नेता तथा कार्यकर्ताहरुले जोडदार माग गरेका छन् । कार्यक्रममा पार्टीका कोशी प्रदेश सदस्य गान्धीमाया तामाङ, जिल्ला समिति उपसभापति फुदोर्र्जी शेर्पा, संविधानसभा सदस्य गोकर्ण राई, महाधिवेशन प्रतिनिधि प्रकाश सिंह कार्की, दलित संघ केन्द्रीय सदस्य धर्म नेपाली, नेविसंघ केन्द्रीय सदस्य दिनराज बास्तोला, नेपाल महिला संघ सोलुखुम्बुका अध्यक्ष सरला नाछिरिङ, नेविसंघ जिल्ला अध्यक्ष नविन बस्नेत, जिल्ला समितिका अन्य पदाधिकारी तथा सदस्यहरु, महाकुलुङ गाउँपालिका पालिका अध्यक्ष महाकुलुङ सुर्य कुलु, नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई, पार्टीका पालिका तथा वडा तहका पदाधिकारी तथा सदस्यहरु लगायतका नेताहरुको पनि उपस्थिती रहेको थियो ।