मिड सोलु हाइड्रोले थप्यो आईपीओमा आवेदन दिने म्याद

  हिमाल समाचार
6.6k Shares

सोलुखुम्बु – मिड सोलु हाइड्रोपावरले आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले साउन १४ गतेदेखि २८ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको शेयरको म्याद साउन ३० गते सम्म थप गरेको हो ।

मागभन्दा बढी आवेदन पर्न आएमा कम्पनीले सोभन्दा अगावै निष्काशन बन्द गर्न सक्ने जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ भने आवेदन दिने आज सकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ३, ४, ५, ६, ७ र ११ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता शेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार