जिल्ला अस्पताल फाप्लु न्यूनतम सेवा मापदण्डमा कोशी प्रदेशकै दोश्रो

  हिमाल समाचार
3.8k Shares

सोलुखुम्बु – न्यूनतम सेवा मापदण्डमा मुल्यांकनमा जिल्ला अस्पताल फाप्लु कोशी प्रदेशकै दोश्रो भएको छ । कोशी प्रदेशको स्वास्थ्य सेवा निर्देशानालय विराटनगरले आर्थिक वर्ष २०७९/८० मा मापन गरेको न्यूनतम सेवा मापदण्डमा फाप्लु दोश्रो भएको हो ।

जिल्ला अस्पताल फाप्लुले ८६ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशको १४ जिल्ला मध्ये दोश्रो भएको अस्पतालकी निमित्त प्र्रमुख सानी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ३ वटा क्षेत्रमा विभाजन गरेर गरिएको मापनमा फाप्लुले प्रशासनिक तथा व्यवस्थापनमा ७८ प्रतिशत, उपचारात्मक सेवामा ८७ प्रतिशत र अन्य सेवामा ८९ प्रतिशत अंक प्राप्त गरेको छ ।

जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्ड क्रमश सुधार हुँदै गएको छ । आर्थिक वर्ष २०७५/७६ मा ४५ प्रतिशत, २०७६/७७ मा ६१, २०७७/७८ मा ६७, २०७८/७९ मा ७१, २०७९/८० मा ८६ प्रतिशत रहेको छ । भौगोलिक विकटता तथा अनेकौ चुनौतीहरुका बावजुत पनि सेवा न्यूनतम सेवा मापदण्डमा सुधार गर्न सफल भएको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताउनुभयो ।

अस्पतालको सेवा तथा भौतिक संरचनाका लागि नगरपालिकाले पहल गरेकाले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह भईरहेको सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । अस्पतालमा एमडीजीपी डाक्टरको दिगो व्यवस्थापनका लागि नगरपालिकाले मन्त्रालयसँग समन्वय गरिरहेको नगरप्रमुख शेर्पाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार