सोलुखुम्बुको ४ स्थानीय सरकारको मात्रै आफ्नै प्रशासनिक भवन !

  सलिना लामिछाने
1.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुको ८ स्थानीय तह मध्ये ४ स्थानीय सरकारको मात्रै आफ्नै प्रशासनिक भवन रहेको पाइएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका, सोताङ, माप्यदुधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले मात्रै आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेको पाइएको हो ।

सोताङ गाउँपालिकाले २ बर्ष यता आफ्नै प्रशासनिक भवनबाट सेवा दिदै आएको निमित्त प्रमुख प्रशासकिय अधिकृत श्रीध्वज राईले बताउनुभयो । माप्यदुधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पनि आफ्नै भवनबाट प्रशासनिक सेवा दिदै आएको जनाएको छ ।

थुलुङदुधकोशी गाउँपालिकाले केहि समयदेखि आफ्नै सुविधासम्पन्न भवनबाट प्रशासनिकसेवा दिदै आएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभएको छ । यता सोलुदुधकुण्ड नगरपालिकाले सावि सल्लेरी गाविस भवनबाट प्रशासनिक सेवा दिदै आएको छ । नगरपालिकाले भवन निर्माणको प्रयास गरेपनि जग्गा विबादका कारण रोकिएको नगरउपप्रमुख गान्धी माया तामाङले बताउनुभयो ।

लिखुपिके गाउँपालिकाले साविक गाविस भवनबाटै सेवा दिदै आएको गाउँपाकिला अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो । भवन निर्माणका लागि २२ रोपनी जग्गा व्यवस्थापन भईसकेकाले भवन बनाउने तयारी भईरहको अध्यक्ष बस्नेतको भनाई छ ।

नेचासल्यान गाउँपालिकाले साविक गाविसको भवनबाट सेवा दिइरहको छ भने चालु आर्थिक वर्षमा नै भवन निर्माण कार्य थालनी गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लबुन राईले बताउनुभयो । उता महाकुलुङ गाउँपालिकाले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

पालिकाले घरभाडा मात्रै वार्षिक २० लाख रुपैयाँ खर्च गर्ने गरेको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताउनुभयो । पालिकाले ६ रोपनी जग्गा निःशुल्क प्राप्त गरेको र बाँकी ३ रोपनी जग्गा प्राप्तीको क्रममा रहेकाले भवन निर्माणको काम चालु आर्थिक वर्ष भित्रै काम सुरु गर्ने अध्यक्ष कुलुङले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार