सोलुखुम्बु – सोसोलुखुम्बु ः स्थलमार्गबाट पर्यटकीय जिल्ला सोलुखुम्बु भित्रिने एक मात्र नाका साल्मे स्थित सिस्नेरी पहिरोका कारण बारम्बर अवरुद्ध हुने गरेको छ । लगातारको वर्षासँगै ओखलढुङ्गा–सल्लेरी सडक अन्तर्गत सिस्नेरीमा निरन्तर गइरहने पहिरोले सवारी साधनहरु दैनिकजसो नै फस्ने गरेका छन् ।
लगातारको वर्षातले निरन्तर पहिरो खस्न थालेपछि यातायातका साधन अवरुद्ध हुने गरेका छन् भने खुलेको समयमा पनि माथिबाट खस्ने पहिरोको जोखिम रहेको चालकहरूले बताएका छन् । पानी पर्नासाथ माथिबाट झर्ने पहिरोको कारण घण्टौँ सडक अवरुद्ध हुने गरेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सो क्षेत्रको सडक यस वर्ष मात्रै एक दर्जन पटक भन्दा बढी अवरुद्ध भईसकेको प्रहरीको भनाई छ ।
पानी पर्नासाथ सडक मार्ग बन्द भएपछि जिल्ला सदरमुकाम भित्रिने तथा बाहिरिने सवारी साधनहरू अलपत्र पर्ने गरेका छन् । जिल्लाबाट काठमाडौँ, विराटनगर तथा छिमेकी जिल्लाहरूका लागि छुटेका र सदरमुकाम आउँदै गरेका मालवाहक तथा यात्रुवाहक सवारी साधनहरू दैनिक घण्टौँ रोकिने गरेको सवारी चालक लक्ष्मण घतानीले बताउनुभयो ।
जिल्ला आउने एक मात्र सडकमार्ग भएकाले यहाँ स्वदेशी नागरिकका साथै सगरमाथा क्षेत्र आउने विदेशी पर्यटकहरुले समेत यहि सडक हुँदै यात्रा गर्ने गर्दछन् । लगातारको पहिरोले सडकको मर्मत सम्भार तथा स्तरोउन्ती गर्ने जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय हर्कपुर समेत यो कार्यबाट दिक्क भएको एक कर्मचारीले बताएका छन् ।
सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन कार्यालय हर्कपुर र हाईड्रोपारसँग समन्वय गरेर स्काभेटर तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनुभयो । सडक बारम्बर अवरुद्ध भईरहने भएकाले खुलान तथा समन्वयका लागि सो क्षेत्रमा प्रहरी समेत तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ ।