सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको अप्रेसन सेवा सुचारु, डाक्टरको संख्या ४ पुग्यो

  हिमाल समाचार
6k Shares

सोलुखुम्बु – विशेषज्ञ चिकित्सक नहुँदा करिब एक महिनादेखि बन्द भएको जिल्ला अस्पताल फाप्लुको अप्रेसन सेवा सुचारु भएको छ । एमडिजिपी डाक्टर नहुदा साउन १ गतेबाट ठप्प बनेको अप्रेसन सेवा करिब एक महिनापछि आजबाट सुचारु भएको हो ।

जिल्ला अस्पतालमा मातृ तथा नवशिशु कार्यक्रम काठमाण्डौले विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यलाई खटाएको अस्पतालका निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार डा. शाक्य सोमबार बेलुका अस्पतालमा आइपुगेसगै आजबाट २४ सै घण्टा अप्रेसन सेवा सुचारु भएको हो ।

उहाँलाई एक वर्षको करार सम्झौता गरि मन्त्रालयले खटाएको अस्पतालले जनाएको छ । यसअघि करारको विशेषज्ञ डाक्टर अजय चौधरीको करार सम्झौता अवधी सकिएसगै यही साउन १ गतेदेखि जिल्ला अस्पताल विशेषज्ञ डाक्टर विहीन भएको थियो ।

जसका कारण अस्पतालको अप्रेसन सेवा रोकिएको थियो । यद्यपि अस्पतालमा मेडिकल अधिकृत(विरामी जाँच गर्ने) डाक्टर ३ जना रहेका थिए । उनीहरुबाट उपचार सेवा नियमित प्रवाह भइरहेको अस्पताल नि.प्रमुख शेर्पाले बताउनुभयो । यससँगै अस्पतालमा कुल डाक्टरको संख्या ४ जना पुगेको छ ।

अब गर्भवती, सुत्केरी तथा अन्य अप्रेसन गर्नुपर्ने बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्य हटेको फाप्लु अस्पतालले जनाएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सक ब्यवस्थापनका लागि सोलुदुधकुण्ड नगरपालिका, अस्पताल ब्यवस्थापन समिती, अस्पताल प्रशासन लगायतले सहयोग र समन्वय गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार